उडिरहेको विमानको ढोका खोल्ने यात्रु पक्राउ



काठमाडौँ । दक्षिण कोरियामा अवतरण गर्ने क्रममा रहेको एशियाना एयरलाइन्सको एउटा विमानको आपत्कालीन द्वार खोलेको आरोपमा एक यात्रु पक्राउ परेका छन्।

डेगू अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार सुरक्षित रूपमा अवतरण गरेको उक्त विमानमा यात्रा गरिरहेका १९४ जना यात्रुहरू सकुशल छन्। तर विमान अवतरण गर्दा त्यसको आपत्कालीन ढोका भने खुलै थियो।

विमानमा भएका केही यात्रु बेहोस भएका थिए भने कतिपयलाई सास फेर्न समस्या भएको थियो। उनीहरूलाई अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।यन्हाप समाचारसंस्थाले जनाएअनुसार आकस्मिक ढोका खोल्ने ३० वर्षका ती व्यक्तिलाई जहाज अवतरण भएपछि पक्राउ गरिएको छ।

कहाँबाट उडेको थियो जहाज 

उडान नम्बर ओजेड-८१२४ रहेको एअरबसको ए-३२१-२०० जहाज स्थानीय समयानुसार शुक्रवार बिहान ११:४५ बजे जेजू टापुबाट उडेको थियो।करिब एक घण्टापछि अवतरण गर्ने क्रममा एक पुरुष यात्रुले जमिनबाट २५० मिटर माथि हुँदा विमानको आपत्कालीन ढोका खोलिदिएका थिए।

आपत्कालीन ढोका खुलै रहेको अवस्थामा जहाज अवतरण भएको थियो । एक यात्रुले सामाजिक सञ्जालमा राखेको भिडिओमा विमानको बायाँतर्फको चेपबाट सीटमा बसेका यात्रुहरूको पङ्क्तिमा हावा चलिरहेको देखिन्छ।

विमान अवतरण गर्न लागेकाले विमानका कर्मचारीले उनलाई रोक्न नसकेको प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उनीहरूका अनुसार ती व्यक्तिले ढोका खोलेर विमानबाट हाम फाल्ने प्रयास गरेका थिए। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्