काभा वुमन्स च्यालेन्ज कप : नेपालकाे फाइनल यात्रा रोकियो 



काठमाडौँ । जारी काभा वुमन्स च्यालेन्ज कपमा काजाकस्तानसँग पाँचौँ सेटमा पराजित भएपछि नेपालको फाइनलको यात्रा बन्द भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग नेपाल पराजित भएको हो ।

पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालको पुनरागमन लोभलाग्दो रह्यो । क्रमसः २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन थियो । चौथो सेटमा नेपालको लय बिग्रियो ।

सुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५–१८ ले जित्यो । अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अङ्क लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अङ्क जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो ।

सेन्ट्रल एसियन भलिबल सङ्घले यस संस्करणमा क्याटागोरी ए र बी टिमलाई एकसाथ गाभेर पहिलोपल्ट प्रतियोगिता आयोजना गरेको हो । नेपालले क्याटागोरी बी का टिमहरू सम्मिलित प्रतियोगिताको उपाधि यसअघि दुईपल्ट जितेको थियो ।

काजाकस्तान र भारत काभामा क्याटागोरी ए का टिमहरू हुन् । एसियाली वरीयतामा काजाकस्तान पाँचौँ र भारत आठौँ स्थानमा छन् । यी दुईले यो प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्