मुम्बईलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा



काठमाडौं । मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। गुजरातले आईपीएलको दोस्रो क्वालिफायरमा मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

पहिले ब्याटिङ गर्दै गुजरातले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो। उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए। तिलक बर्माले बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ४३ रन बनाउँदा क्यामरून ग्रिनले ३० रन जोडे। गुजरातका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए।

मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए। यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले शुभमन गिलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो। गिलले मात्र ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रनको बलियो इनिङ खेले।

साही शुदर्शनले ४३ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले २८ रन जोडे। ऋदिमान साह १८ रनमा आउट भएका थिए। मुम्बईका आकाश माडवाल र पियुल चावलाले १-१ विकेट लिए। योसँगै गुजरात लगातार दोस्रो वर्ष आईपीएलको फाइनलमा पुगेको छ। अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात र चेन्नई सुपर किंग्स भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्