जेष्ठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता



काठमाडौँ । १५ जेठ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ । मधेस प्रदेश क्रिकेट सङ्घ धनुषाले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । सङ्घका अध्यक्ष हिरा भगतले मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको प्रमुख सहयोगमा १५ गतेदेखि आयोजना हुने प्रतियोगितामा सातै प्रदेशका एक÷एक गरी सात टिमको सहभागिता रहने र खेल राम जानकी बहुउद्देश्यीय खेल मैदानमा खेलाइने जानकारी दिनुभयो ।

सो अवधिमा २२ वटा खेल हुनेछन् । यसअघि जिल्लास्तरमा आयोजना भएको प्रतियोगिता पहिलो पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको उहाँले बताउनुभयो । प्रतियोगितामा विजेता टिमलाई रु तीन लाख र उपविजेताले रु दुई लाखसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको कूल लागत कूल ७० लाख लाग्ने अनुमान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका सचिव आसिसकुमार झाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता महेन्द्रनारायण निधिको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएकोले यसलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि जनकपुरधाममा खेलकुद गतिविधि बढाउने उद्देश्यले यसअघि मेयरकप क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको र १५ गतेदेखि हुने प्रतियोगिता त्यसकै निरन्तरता भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका नेता निधिको स्मरणसँगै सरकारलाई यहाँ बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन ध्यानाकर्षणका लागि पनि महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्