गुल्मीमा आगलागीमा परी ३ वर्षमा ११ जनाको मृत्यु, ११७ घरगोठ जले



गुल्मी । गुल्मीमा आगलागीमा परी तीन वर्षमा ११ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म आगलागीमा परी ११ जनाको मृत्यु भएको छ भने एक सय १७ घरगोठ जलेर नष्ट भएका छन्।

चालु आर्थिक वर्षको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आर्थिक वर्षमा ३१ घर र १५ गोठ र आर्थिक वर्ष २०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आगलागीबाट तीन वर्षमा तीन करोड ६० लाख ३८ हजार पाँच सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ। जिल्लामा यो आवमा पाँच जनाले आगोबाट ज्यान गुमाएका छन्। वैशाख महिनामा मात्रै तीन जनाले आगोमा परेर ज्यान गुमाएका छन्।

गत वर्ष चार र आर्थिक वर्ष २०७६/७७ मा दुई जनाको आगोमा जलेर मृत्यु भएको थियो। तीन वर्षमा २० जना घाइते भएका छन्। यो आर्थिक वर्षको चैतसम्म १० जना, गत वर्ष सात र आर्थिक वर्ष २०७६/७७ मा तीन जना घाइते भएका छन्। आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको छ सय १९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्याङ्क समावेश गरिएको छैन।

जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले बताइन्। सुक्खा मौसम र हावाहुरी एवं लापरबाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्