आईपीएल : उपाधिका लागि चेन्नाइ र गुजरात भिड्दै



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल आइतबार राति हुँदैछ। फाइनलमा चेन्नई सुपरकिंग्स र गुजरात टाइटान्स भिड्दै छन्। खेल नेपाली समयानुसार राति पौने ८ बजे हुनेछ। लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्न लागेका हुन्।

साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ। यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो। चेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो।

गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो। चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ।

यी दुई टोलीबीचको ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ। चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ। जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ।

प्रतिक्रिया दिनुहोस्