वडाअध्यक्षलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ



काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका-२४ का वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाही गर्ने माग गर्दै बसहियाका स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् ।

आज आइतबार स्थानीयवासीहरूले वडाअध्यक्ष उपेन्द्र सहनीविरुद्ध विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन् । उनीहरूले सार्वजनिक जग्गा जातीय अतिक्रमण गर्न पाइँदैन, भ्रष्ट र तानाशाह वडाअध्यक्ष मुर्दावाद, दोषीलाई कारबाही गर, सामाजिक सद्भाव कायम गर लगायतका मागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

गत बिहीबार ऐलानी जग्गामा वडाअध्यक्ष सहनीले सहनी धर्मशाला निर्माण गरेको भन्दै काम सुरु गर्न खोज्दा सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनु पर्ने मागसहित स्थानीयबासीले विरोध जनाएका थिए । सोही क्रममा वडाअध्यक्ष सहनीसहित केही व्यक्तिले विरोध गर्न आएका करिब एक दर्जन स्थानियवासीमाथि निर्घात कुटपिट गरेको आरोप स्थानियवासीहरुको रहेको छ ।

उनीहरूले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन्  । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्