कृषि उपज ब्रान्डिङ गर्न प्रस्ताव आह्वान



काठमाडौँ । कृषि उपजले फराकिलो बजार र अन्तर्राष्ट्रिय पहिचान नपाइरहेका बेला उपभोक्ताको माग र गुणस्तर सुनिश्चित गर्दै उत्पादित वस्तुलाई लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी ‘प्याकेजिङ’ गर्ने तयारी गरिएको छ ।

मकै, अलैंची, दुग्द्यजन्य उत्पादन र तरकारीको स्वदेशी एवं अन्तर्राष्ट्रिय बजार विस्तार गर्न नेपाल कृषि विकास कार्यक्रम (एनएएमडिपी)ले इच्छुक कम्पनी र समूहसँग प्रस्ताव मागेको छ । स्विस सरकार विकास सहयोग (एसडिसी)सँगको सहकार्यमा प्राक्टिकल एक्सन कन्सल्टिङले कोशी प्रदेशका कृषि उपजको ब्रान्डिङ/प्याकेजिङ/वितरण प्रणाली सम्बन्धी सेवाको सहजिकरण गर्ने छ ।

कृषि उत्पादनलाई नविनतम् अवधारणासहित उत्पादकदेखि बजार र उपभोक्तासम्म पु¥याउन प्रस्ताव आह्वान गरिएको हो । सर्वोत्कृष्ट प्रस्तावलाई सहज च्यालेन्ज फण्डले ५ लाखदेखि ५० लाख रुपैयाँसम्म सहयोग प्रदान गर्ने छ । ‘सहज च्यालेन्ज फण्ड–तेस्रो’ परियोजनाको  लागि आगामी ५ असारसम्म आवेदन दिन सकिने छ ।

उपभोक्ताको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमता परीक्षण गरेर उत्कृष्ट आवेदक चयन गरिने एनएएमडिपीका टीम लिडर रिक भ्यान डर क्याम्पले जानकारी दिए । दोस्रो चरणमा छनोट हुने उत्कृष्ट समूह र कम्पनीले पेश गर्ने पूर्ण व्यवसायिक योजनापछि आर्थिक सहयोग प्रदान गरिने भए पनि उपकरण खरिदका लागि भने च्यालेन्ज फण्डले आर्थिक सहयोग प्रदान गर्ने छैन ।

कृषक र उत्पादकलाई प्रोत्साहन गर्न यस्तो अवधारणा सुरु भएको र आगामी वर्षहरुमा यस्ता प्रस्ताव अन्य प्रदेशमा पनि विस्तार हुने सहज च्यालेन्ज फण्डका ब्रान्डिङ र प्याकेजिङ विज्ञ अनुज श्रेष्ठले बताए । उनकाअनुसार कृषि उपजको बजार फराकिलो बनाउन कोशी प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग समेत सहकार्य हुने छ ।

नेपालमा अलैंची लगायतका कृषि उत्पादनको ब्रान्डिङ नहुँदा भारतीय व्यवसायीले आफ्नै ब्रान्ड र लोगोमा नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउने गरेका छन् । सहज च्यालेन्ड फन्डले पालिकातहमै कृषि उपजको ब्रान्डिङ अवधारणाको फाइदा र अन्य लाभबारे जानकारी दिन मद्दत गर्ने श्रेष्ठको बुझाइ छ । ‘यो अवधारणाले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कृषक र समूहले लाभ पाउने छन्, कृषिको गुणस्तरीय बजार विस्तार गर्न सहयोग पुग्ने छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्