मलाई ‘जारी’ जस्तै अत्यन्त मन परेको फिल्म हो ‘नीरफूल’: दयाहाङ राई



काठमाडौँ । ‘नीरफूल’ मौलिक स्वादमा निर्माण भएको फिल्म हो । फिल्ममा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष देखाइएको छ । धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेंसी र काठमाडौँमा छायाङ्कन गरिएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको मुख्य भूमिका रहेको छ ।

विषयवस्तु र मौलिकताको हिसाबले आफूलाई फिल्म ‘जारी’ जस्तै ‘नीरफूल’ अत्यन्त मन परेको दयाहाङ सुनाउछन् । ‘मेरा कैयौं फिल्मले ५१ दिन मनाउँदै व्यबसायिक सफलताको रेकर्ड पनि तोडेका छन्’ उनले भने, ‘तथापि विषयवस्तु र मौलिकताको हिसाबले मलाई जारी जस्तै अत्यन्त मन परेको फिल्म नीरफूल हो ।’

अभिनेता राईले फिल्म निर्माणको समयमा भोगेका दुःख समेत सुनाए,‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा सिनेमामध्ये एक हुनेछ । मौलिक विषयवस्तुलाई मौलिक ढङ्गले नै पस्किन खोजिएको फिल्म हो नीरफूल ।’

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए, ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उनले भने, ‘यो फिल्ममा हामीले भोगेको समयको कथा भेटिनेछ ।’

कोरोना महामारीको कारण रिलिज रोकिएको फिल्मलाई फूलमान वलले निर्देशन गरेका हुन् । फिल्ममार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले बताए,‘फिल्ममा भुकम्प आउँछ, तर फिल्म भुकम्पको कथा माथि हैन’, उनले भने, ‘हाम्रो समाज र जीवनमा आउने भुकम्प, करप्टेड सिस्टमले ल्याउने भुकम्प चाहिँ फिल्ममा छ ।’

फिल्मका अर्का अभिनेता बुद्धि तामाङले नीरफूलको कथावस्तु र तामाङहरुको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए । फिल्म समसामयिक बिषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उनले जिकिर गरे । आफू फिल्ममा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उनले खुलाए ।

अभिनेत्री शान्ति वाइबाले आफू रङ्गमञ्चबाट आएको बताउँदै रङ्गमञ्चबाटै स्थापित दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । उनले नीरफूलबाट अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन् । जिग्मे छ्योकी घिसिङ आफू यसअघि गायिकाको रूपमा परिचित भए पनि नीरफूलले आफूलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गरिन् ।

रङ्गकर्मी राजन खतिवडाले आफूलाई सिनेमाको कथा र विषयवस्तु अत्यन्त मन परेको र सोचेको भन्दा राम्रो पारिश्रमिक ‘नीरफूल’मा पाएको जानकारी गराउँदै भने, ‘निर्देशक फुलमानजीले हरेक साना साना कुरालाई पनि निकै गहिरो रूपमा यसमा प्रस्तुत गर्नु भएको छ ।’ गायक र रँगकर्मीको रूपमा परिचय बनाएका कलाकार मानस राजले आफूलाई गायकको रूपमा चिनेका श्रोता दर्शकले यो चलचित्रमा फरक अवतारमा पाउने बताए ।

नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्म ‘नीरफूल’ आगामी जेठ २६ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्