वर्षाले बिथोलिएको आईपीएलको फाइनल आज हुने



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल सोमबार हुने भएको छ। आइतबार हुने भनिएको फाइनल खेल लगातारको वर्षाका कारण बिथोलिएपछि सोमबारका लागि सारिएको हो। आईपीएलको उपाधिका लागि महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा भिडन्त हुँदैछ। यी दुईबीचको खेल नेपाली समयअनुसार आज साझ ७:४५ बजेदेखि सुरु हुनेछ।

आईपीएलको प्लेअफमा चेन्नाईले प्रतियोगिताको साविक विजेतासमेत रहेको गुजरातलाई नै हराएर सोझै फाइनलमा स्थान बनाएको थियो। गुजरातले भने इलिमिनेटर जितेको मुम्बई इन्डियन्सलाई हराएर उपाधिका लागि चेन्नाईसँगको भेट पक्का गरेको थियो।खेल वर्षाका कारण प्रभावित हुनसक्ने सम्भावनालाई ध्यानमा राखी फाइनलका लागि रिजर्भ डे राखिएको थियो। त्यसैले सोमबार फाइनल खेलाउन लागिएको हो।

सोमबार पनि फाइनल खेल हुन नसके लिग चरणको खेलको प्रदर्शनका आधारमा हारजितको निर्णय लिइनेछ। सोमबारको खेल पनि वर्षाबाट प्रभावित भए साविक विजेता गुजरात टाइटन्सले उपाधि हात पार्नेछ। गुजरातले लिग चरणका १४ मध्ये १० खेल जितेको थियो भने चेन्नईले लिग चरणमा १४ मध्ये ८ खेलमा मात्र जित हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्