गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने



काठमाडौँ । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले  सो जानकारी गराएका हुन् ।

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाई यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने व्यवस्था गरिएको महतले बताए ।

यस्तै सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा। महतले विराटनगर, भरतपुर, नेपालगन्ज र धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने जनाए ।

 सरकारले रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा रजुम्लाको खलंग विमानस्थलको पनि स्तरोन्नति गर्ने भएको छ । दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्