काठमाडौं : सात वर्षअघि कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक विस्तार भयो । सडक विस्तार भएसँगै धेरैले सोचेका थिए–अबचाहिँ कोटेश्वर र जडीबुटीको जाम घट्ने भयो । हुन पनि केही समय त त्यस्तै नै भयो । ६ लेनको चिल्लो सडकमा सरर गाडी गुड्थे । जामको त कुनै गुन्जायस नै हुँदैन्थ्यो ।
सडकमा चार लेन हाइस्पिड लेन र दुई लेन सर्भिस लेन तथा तीन मिटरको बगैँचा सहितको ‘मेडियन’ बनाइयो । सडकमा सवारी जाम हुँदैनथ्यो । उक्त सडक हेर्नेकै लागि पनि सर्वसाधारणको ओइरो लाग्थ्यो ।
जापान सरकारको सहयोगमा २०६५ सालमा सडक निर्माण भएको हो । त्यो बेला उक्त सडकखण्ड उपत्यकाकै नमुना सडकखण्डको रूपमा चिनिन्थ्यो । तर, अहिले सडकको अवस्था पहिलेजस्तो छैन । सडकमा सहजरूपमा यात्रा गर्न त परै जाओस्, पाइलापिच्छे जामको सामना गर्नुपर्ने बाध्यता छ ।
सूर्यविनायक–कोटेश्वरको दूरी १२.८ किलोमिटर छ । कार्यालय समयमा यो दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई एक–डेढ घण्टासम्म लाग्ने गरेको छ ।
‘सूर्यविनायकदेखि कोटेश्वरसम्मलाई एक घण्टा समय छुट्टाएर हिँड्नुपर्ने भइसक्यो,’ सूर्यविनायक भक्तपुरकी शर्मिला श्रेष्ठले भनिन्, ‘कतिबेला कहाँ जाममा परिने हो भन्ने थाहा नै हुँदैन । त्यसैले एक घण्टाभन्दा धेरै समय बाटोलाई समय छुटाएर हिँडने गर्छु।’
ट्राफिक नियमअनुसार सहरी क्षेत्रमा प्रतिघन्टा ४० किलोमिटरसम्म गतिमा सवारीसाधन गुडाउन पाइन्छ । यो गतिमा गाडी गुड्न पाउने हो भने सूर्यविनायक–कोटेश्वरको दूरी १९ मिनेटमै तय गर्न सकिन्छ । तर, अत्यधिक ट्राफिक जामकै कारणले १९ मिनेटमा पार गर्न सकिने दूरीका लागि समेत एक–डेढ घन्टा लाग्ने गरेको छ ।
सूर्यविनायकदेखि कोटेश्वरसम्म कम्तिमा चार स्थानमा लामो जाम हुने गर्छ । पिक आवरमा कौशलटार, लोकन्थली र जडीबुटी चोक पार गर्न बढीमा डेढ घन्टासम्म लाग्ने गर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।