
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख रकम ठगी गरेको आरोपमा प्रहरीले दोलखा एक युवकलाई पक्राउ गरेको हो ।
दोलखाको बैतेश्वर नगरपालिका-३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुलचोकबाट पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सुरेशलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
उनले फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै प्रतिव्यक्ति १७ लाख गरी ४० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।