मोदीलाई पशुपतिको चन्दन उपहार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई आज (बिहीबार) पशुपतिनाथको चन्दन र नैवेद्य (प्रसाद) प्रदान गर्ने भएका छन् । प्रचण्डले मोदीलाई पशुपतिको मूल मूर्ति (पञ्चमुखी)मा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल र नैवेद्य उपहार दिनेछन्।

कलात्मक चाँदीको बट्टाभित्र मखमलको कपडामा सजाइएको माला र प्रसाद उच्चस्तरीय भेटवार्ताका क्रममा प्रचण्डले मोदीलाई हस्तान्तरण गर्नेछन्।
प्रचण्ड–मोदीबीच आज ‘वान टु वान’ वार्ता हुँदै छ।

परराष्ट्र मन्त्रालयले माग गरेअनुसार पशुपति क्षेत्र विकास कोषले चन्दनलगायत सामग्री उपलब्ध गराएको हो। उपहारकै लागि भनेर विशेष पूजा नभएको, नियमित पूजाका क्रममा चढाइएका र चढाइने सामग्री परराष्ट्रमार्फत पठाइएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

नेपालबाट भारतमा हुने उच्चस्तरीय भ्रमणका क्रममा पशुपतिको प्रसाद भारतीय राष्ट्रपति, उपराष्ट्रपति, विदेशमन्त्रीलाई पनि पठाउने गरिन्छ । यस्तो अभ्यास भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकाल (सन् २०१४)देखि हुँदै आएको छ । तारतम्य नमिल्दा  पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भ्रमणका क्रममा लगिएको प्रसाद मोदीलाई हस्तान्तरण नगरी उतै छुटेको थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पहिलो र दोस्रो कार्यकालको भारत भ्रमणका क्रममा पशुपतिको प्रसाद मोदी र अन्य विशिष्ट अधिकारीसमक्ष पुगेको कोषका पूर्व सदस्य–सचिव डा. गोविन्द टण्डन बताउँछन्। ‘मेरो स्मरणमा मोदी प्रधानमन्त्री भएयता नेपालका प्रधानमन्त्रीहरूले गर्ने औपचारिक भ्रमणमा पशुपतिको प्रसाद लाने गरिन्छ,’ उनले भने, ‘मोदीकै इच्छाअनुसार प्रसाद लाने क्रम परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको हो।’

परराष्ट्रमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा पनि पशुपतिको प्रसाद भारत लाने गरिन्छ। तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली समकक्षीबाट पशुपतिको चन्दन र प्रसाद नियमित रूपमै पाउने गर्थिन्।

नेपाल भ्रमणका क्रममा पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्रीहरू कंग्रेस आईका नेता राहुल गान्धी, अन्य राजनीतिज्ञ र कलाकारले पशुपतिमा विदेश पूजा गर्दै आएका छन्। ५ वर्षअघि नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा निस्किएका गान्धीले पशुपति दर्शन गरेका थिए।

आफ्नो अघिल्लो कार्यकालमा कश्यप गोत्रका मोदीले पशुपतिमा विशेष पूजा गरेका थिए। मूल मन्दिर र पशुपति परिसरका वासुकी नारायण र आसपासका २५ वटा मठ–मन्दिरमा विशेष पूजा गरेका थिए । यसक्रममा मोदीले कोषलाई ३ करोड रुपैयाँ मूल्य बराबरको २ हजार ५०० केजीको श्रीखण्ड उपहार प्रदान गरेका थिए।

भारतीय उच्च अधिकारीहरूले नेपाल भ्रमणका क्रममा गर्ने पशुपति दर्शनले कूटनीतिक अल्झन तोड्न सघाउ पु¥याएको पूर्व सदस्यसचिव टण्डनको बुझाइ छ। उनी भन्छन्, ‘मोदीलगायत भारतीय उच्च अधिकारीहरूको पशुपति दर्शनले नेपालमा धार्मिक पर्यटन वृद्धिमा समेत सघाउ पुर्‍याएको छ। कतिपय अवस्थामा द्विपक्षीय बेमेल र असमझदारी पनि ‘मन्दिर कूटनीति’ले सहज बनाउन सक्छ।’

प्रतिक्रिया दिनुहोस्