राखेपको मिलेमतोमा गैरखेलाडी अमेरिका पठाउने धन्धा, आत्मालोचना गरेर पन्छियो नेतृत्व



काठमाडौं । नेपाली खेल क्षेत्रको नेतृत्वकै मिलेमतोमा खेलाडीलाई पाखा लगाएर सरोकार नै नभएका व्यक्तिलाई विदेश भ्रमणलगायत अवसर दिने गरेको खुलेको छ। राष्ट्रिय खेलकुद परिषद्का अधिकृत इन्द्र कार्की ३ वर्षदेखि अमेरकामा छन्।

ब्याडमिन्टन खेलमा कुनै सरोकार नभएका उनी यो खेलको ‘युएसए इन्टरनेसनल च्यालेन्ज–२०१९’ मा म्यानेजरका रूपमा सहभागी हुन अमेरिका गए।सो प्रतियोगितामा खेलाडी साजनकृष्ण ताम्राकारले सहभागिता जनाएका थिए भने राखेपका कर्मचारीसमेत रहेका तत्कालीन ब्याडमिन्टन संघका उपमहासचिवलाई प्रशिक्षक बनाएर टोलीमा सहभागी गराइयो । जबकि उनी ब्याडमिन्टनका प्रशिक्षक नै होइनन् ।

खेल सकिएपछि श्रेष्ठ र ताम्राकार नेपाल फर्किए। राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीसमेत रहेका कार्की राजीनामा दिएर फेरि अमेरिका फर्किए । श्रेष्ठ भने नेपालमै छन्। नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ भने तत्कालीन राखेप सदस्य सचिव केशव विष्टको दबाब र मिलेमतोका कारण अनधिकृत व्यक्तिलाई प्रतिस्पर्धामा सहभागी हुन पठाउनुपरेको बताउँछन् ।

‘सदस्य सचिवले नै दबाब दिएपछि हामीले नकार्न सकेनौँ,’ श्रेष्ठले भने। नेपाल ब्याडमिन्टन संघमार्फत् अनधिकृत व्यक्तिलाई विदेश पठाउने शृंखला नै चल्ने गरेको स्वीकार गर्छन्– संघका उपाध्यक्ष सुवास श्रेष्ठ। केन्द्रीय कार्यसमितिले सचिव नवीनविक्रम शाहलाई अन्तर्राष्ट्रिय खेल संघ र समितिसँग इमेललगायत माध्यमबाट सम्पर्क र सम्बन्ध विस्तारको अधिकार दिएपछि नै यो अधिकारको चरम दुरुपयोग भएको संघका उपाध्यक्ष श्रेष्ठको दाबी छ।

‘शाहलाई दिइएको अख्तियारीको निर्णय नै नै गलत भएको अहिले आभास भएको छ,’ उपाध्यक्ष श्रेष्ठले भने । यही निर्णयका आधारमा अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सचिव नवीनविक्रम शाह र सदस्य दीपक थापाले आफूअनुकूल काम गर्दैै नेपाली ब्याडमिन्टनलाई नै बद्नाम गराउने काम गरेको उनको आरोप छ।

युएस इन्टरनेसनल खेल सकिएपछि खेलाडी ताम्राकार र प्रशिक्षक श्रेष्ठ नेपाल फर्किएका हुन्। साजन निजी खर्चमा सो प्रतियोगितामा सहभागी थिए भने प्रशिक्षकका रूपमा पुगेका श्रेष्ठ र टिम म्यानेजर कार्की भने सरकारी खर्चमा गएका थिए।

उनीहरू दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी भएका कारण सबै कागजात राखेपमा पेस गरी राखेपकै खर्च तथा सुविधामा अमेरिका पुगेका थिए। त्यसबेला लवभक्त श्रेष्ठ संघका उपहासचिव थिए।

अमेरिकाबाट फर्केका श्रेष्ठ लगत्तै पोखरामा सम्पन्न साग खेलकुदमा जुत्ता खरिदमा भ्रष्टाचार प्रकरणमा समेत मुछिए। ३ भदौ, २०७७ मा गोविन्द भट्टराई संयोजक रहेको तत्कालीन छानबिन कमिटीले लव श्रेष्ठले भ्रष्टाचार गरेको ठहर गरेको थियो।

२०७२ सालको जेठमा रामजीबहादुर श्रेष्ठकै नेतृत्वमा गठन भएको कार्यकारिणी समितिका सचिव ज्ञानेन्द्र सिपाई पनि लामो समयदेखि अस्ट्रेलियामा छन्। ५ वर्षअघि अस्ट्रेलियामा ‘सटल टाइम’ नामक एक कार्यक्रममा संघको प्रतिनिधित्व गर्दै पुगेका उनी उतै हराए। संघका सदस्य थापा सटल टाइमका संयोजक भएका कारण यसको जिम्मेवारी थापाले पनि लिनुपर्ने १ खेलाडी बताउँछन्।

ब्याडमिन्टनका शीर्ष वरीयताका १० खेलाडीमध्ये ६ खेलाडी विदेशमा छन्। तथापि उनीहरूको नाम वरीयताबाट हटाइएको छैन। उनीहरू विगत १ वर्षदेखि विदेशमै छन्। पहिलो वरीयतामा रहेका दीपेश धामी, दोस्रोमा रहेका रत्नजित तामाङ र नवौँ वरीयतामा रहेका विकास श्रेष्ठ विगत १ वर्षदेखि अमेरिकामा छन्।

छैठौँ वरीयताका सुदीप सेढाईं लन्डनमा, सातौँ वरीयताका साजनकृष्ण ताम्राकार क्यानडा र आठौँ वरीयताका नवीन श्रेष्ठ जापानमा छन्। संघले पछिल्लो पटक (२३ फागुन, २०७९) मा जारी गरेको सूचीमा पनि उनीहरू शीर्ष १० स्थानमै थिए। वरीयताक्रमका शीर्ष १० खेलाडी विदेश पलायन हुँदा पनि वरीयताक्रमबाट उनीहरूलाई हटाइएको छैन।

संघले खेलाडीमाथि पनि फरक व्यवहार गरेको छ। अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका सञ्जीव खड्काको नाम भने वरीयताबाट हटाइएको संघकै पदाधिकारीहरू स्वीकार गर्छन्। खड्काले अस्ट्रेलियामा पनि ब्याडमिन्टनका धेरै स्पर्धामा सफलता पाएका छन्। अप्रिलमा क्यानबेरामा भएको ओसियानामा रहेका नेपालीहरूको ब्याडमिन्टन प्रतियोगितामा उनले सफलता पाएका थिए।

२०७२ सालदेखि ब्याडमिन्टन संघको मौजुदा कार्यसमितिको हालसम्म जम्मा ४ वटा मात्र बैठक बसेको छ। पछिल्लो पटक गत शनिबार बसेको बैठकमा अनधिकृत व्यक्तिलाई संघ पदाधिकारीको मिलेमतोमा विदेश पठाइने गरेको विषयमा कार्यसमिति सदस्यले नै प्रश्न उठाएपछि फेरि यो विषय सतहमा आएको हो।

बैठकमा खेलाडीको वरीयताक्रमका विषयमा समेत सदस्यहरूले असन्तुष्टि जनाएका छन्। बैठकमा अध्यक्षको कार्यशैलीप्रति असहमति जनाउँदै अधिकांश सदस्यले खेलका नाममा अनधिकृत व्यक्तिलाई संघले विदेश पठाउने गरेको, वरीयताक्रममा मनपरी गरिएको लगायत विषयसहित २५ बुँदे असहमति पेस गरेका छन्।

यो विषयले प्रवेश पाएपछि अध्यक्षले आत्मालोचना गर्दै संघको साधारणसभामा यी विषयमा थप छलफल गर्ने आश्वासन दिएपछि असन्तुष्ट पक्षसमेत यतिबेला चुप लागेको छ।

प्रतिक्रिया दिनुहोस्