नाबालकलाई पनि छाड्दैन रुसी सेना



एजेन्सी । युक्रेनी अनुसन्धानकर्ताहरूले १५ वर्षका सासा क्रानुएकबाट एउटा तस्बिरको पहिचान गरे। त्यसपछि उनीहरू अचम्ममा परे । रुसी सेनाको गतिविधि नियालिरहेका उनीहरूले भेटेको त्यो तस्बिर युक्रेनी बालकको थियो।

उनको पोसाक पनि रुसी झन्डाको प्रतिबिम्ब थियो– रातो, सेतो र निलो रङको। उनको नाम आर्टम थियो । आर्टमको उमेर पनि सासाको जस्तै थियो।गत सेप्टेम्बरमा युक्रेनको सहर कुप्सायन्सकबाट सासा र आर्टमलगायत १३ जना बालकलाई रुसी सेनाले लिएर गएका थिए।

धेरै जना भागाभाग गरेर फुत्के पनि १३ जना रुसी सेनाको अधीनस्थ क्षेत्रमा लगिएका थिए। यी १३ मध्ये ८ जना पछि रुसी सेनाको कब्जाबाट बाहिर निस्के। यसरी निस्केकामध्ये आर्टम पनि थिए।

आर्टमले नै रुसी सेनाको नियन्त्रणमा रहँदा जबरजस्ती रुसी सेनामा आबद्ध हुन दिएको दबाब र यातनाको कुरा बाहिर ल्याउन चाहेका थिएनन्। तर, उनकै साथी सासामार्फत् युक्रेनी सेनाको गुप्तचरसम्म तस्बिर पुगेको हो।

उनीहरूलाई ‘जेड’को संकेत गर्न लगाइएको थियो। उनीहरूको मनले मानेको थिएन। संकेत गर्न लगाएसँगै उनीहरूलाई जबरजस्ती रुसी राष्ट्रिय पोसाक लगाउन बाध्य पारिएको थियो । सो पोसाकपछि सेनामा आबद्ध हुन र युद्धमा समाहित हुन दबाब दिइएको थियो। त्यसैबीच उनीहरू फुत्किन सफल भएका थिए। ५ जनाको अवस्था भने अज्ञात नै छ।

पछिल्लो समय रुसमाथि मानवताविरोधी धेरै अपराधको आरोप लागेको छ। त्यसै अपराधको शृंखलामा सो घटना पनि छ। रुसले युक्रेनमा आक्रमण गरेयता १९ हजार विद्यार्थीलाई कब्जामा लिएको अनुमान गरिएको छ। उनीहरूलाई देश फर्कन निषेध मात्र गरिएको छैन।

रुसी शिक्षा लिनका लागि समेत दबाब दिइएको छ। यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आशय भने फरक छ। ती सबै स्थान रुसले कब्जा लिएका कारण सबैले रुसी नागरिकसरह नियम मान्नुपर्ने उनको जिकिर छ।

सासाकै आमाका अनुसार डेढ महिना युक्रेनमा रहँदा छोराको कपालसमेत खैरो भएको छ। धेरै तनावका कारण उनको कपाल खैरो भएको हो। उनलाई बाँधेर समेत राखिएको थियो । रुसले कब्जामा लिइसकेका स्थानमा रहेका कारण अन्य धेरै पीडा भोग्नुपर्ने उनको मत छ।

विद्यालय मात्र होइन, अन्य धेरै केयर टेकरबाट बच्चाहरू लगिएको युक्रेनी पक्षले जनाएको छ। रुसले भने विद्यार्थी संरक्षणका लागि लगिएको जनाइएको छ।

अहिले सासालाई लिएर उनका अभिभावक जर्मनी जाने तयारीमा छन्। यता, उनको गृह नगरमा युद्ध अझ चर्किँदो छ। गत अप्रिलमा पनि संग्रहालयमा आक्रमण भएपछि २ महिला मारिएका थिए।

जर्मनी जाने तयारीमा रहेका सासालाई रुसी सेनाले दिएको दुःखले अझ आतंकित पारेको छ। १२ वर्षीय त्यसै विद्यालयका २ बालिकाको तस्बिर पनि सासाले चिने । युक्रेनी सेनाका गुप्तचरमार्फत् पाएको त्यो तस्बिरले रुसी सेनाको मानवताविरोधी थप अपराधको झझल्को दिएको छ।

प्रतिक्रिया दिनुहोस्