तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार 



काठमाडौँ । लगातार तीन दिन भारी अङ्कले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज बिहीबार भने सामान्य अङ्कले उकालो लागेको छ । आज सातको अन्तिम दिन नेप्से उकालो लागेको हो ।

आज बिहीबार नेप्से परिसूचक १६‍.५४ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै १८६६.३४ विन्दुमा पुगेको छ । पछिल्लो तीन कारोबार दिनमा करिब ११० अङ्क घटेको नेप्से आज सामान्य अङ्कले उकालो लागेको हो । आज सेन्सेटिभ इन्डेक्स सेन्सेटिभ इन्डेक्स २.१९ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स १.१४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७० अङ्क उकालो लागेको छ ।

 बजार उकालो लागे पनि कारोबार रकमा भने आज गिरावट आएको छ । बुधवार २ अर्बभन्दा बढीको शेयर किनबेच भएकोमा आज २७२ स्टकको २९ हजार ९२२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता  सेयर खरिदबिक्री भएको छ ।

आज जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बिपीडब्लुको सेयर मूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ भने एशियन हाइड्रोपावर र पाँचथर पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सनराइज फोकस्ड इक्विटी फन्डको इकाईमूल्य यस दिन सर्वाधिक ६ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन पनि प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको यस दिन २३ करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेका छन् । जसमध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धरैले उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्