‘क्यापिटल सेन्ट्रिक लिडरसिप’ : नेतृत्वमा मोफसललाई उपेक्षा किन ?



काठमाडौं । ‘लुज द गेम इज पार्ट अफ स्पोर्ट्स, विल टु लुज इज क्राइम अफ स्पोर्ट्स’ । ( हार्नु खेलको सामान्य कुरा हो। हार्न चाहनु खेल अपराध हो) खेलकुदको विश्वव्यापी मान्यता यही हो । हार्न चाहने या जितका लागि प्रयास नगर्नेहरू खेल अपराधी हुन्।

यो मान्यता पक्कै पनि खेलाडीको हकमा मात्र होइन, प्रशिक्षक, सम्बन्धित प्रतियोगिताको व्यवस्थापन र सम्बन्धित निकाय हाँक्ने अधिकारीको हकमा पनि लागु हुन्छ नै । नेपाली समाजको सबै भन्दा खराब पाटो तथा संसारले मानेको र नेपालले नमानेको कटु सत्य ,‘इन्टेनसनल अन्डरपर्फ इज क्राइम।’ ( नियतवश राम्रोसँग जिम्मेवारी पुरा नगर्नु अपराध हो ) त्यसो भए नेपाली समाजका अख्तियारीवाला सबै कानुनी रूपमा अपराधी नहोलान्, तर व्यावहारिक रूपमा हुन् या होइनन्, त्यो बहसको विषय बन्नै पर्छ ।

काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनसिप सकिएको छ । यो नेपालले आयोजना गरेको ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता मध्ये एक हो। अहिले नेपालमा भलिबलको लोकप्रियता बढ्दो छ र सबै भन्दा सक्रिय खेल संघ मध्ये एक हो । भलिबल संघका अध्यक्ष हुन्, सुदूर पश्चिम बैतडीका जितेन्द्र बहादुर चन्द । उनी सामान्य परिवारका व्यक्ति हुन् ।

एक महिना अगाडी नेपाल बुद्धिचाल महासंघको साधारण सभाले इलामका विदुर प्रसाद गौतमलाई अध्यक्षमा निर्वाचित गर्‍यो। निर्वाचित भएको केही समयमा नै विगतको भन्दा भव्य राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरेको छ। लगातार ३ वर्षका लागि राष्ट्रिय च्याम्पियनसिपको सम्झौता गरी सकेको छ।

सरोकार वाला इभेन्टमा नेपालको च्याम्पियनको रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेलाई व्यक्तिगत आर्थिक भार नदिने घोषणा लगायत यावत काम पहिलो महिनामा भएको छ। त्यत्ति मात्र होइन, सबै एसियाली तहका प्रतियोगितामा सम्बन्धित इभेन्ट(उमेर समूह सहित) का च्याम्पियनलाई सहभागी गराउने निर्णय पनि सोही महासंघले गरेको छ।

राष्ट्रिय च्याम्पियनलाई मासिक भत्ताको सुरुवात पनि गरेको छ। अन्य थुप्रै महत्वांकाक्षी योजना पनि अध्यक्ष गौतमको छ । याद रहोस् यी सबै कार्यक्रम अगाडी ल्याउने र नयाँ दिसा दिने व्यक्ति गौतम कुनै धनाढ्य घरानाका सदस्य होइनन् । उनी त उच्च माविका हेडसरका छोरा हुन्।

नेपालका बहुसङ्ख्यक खेल संघको नेतृत्व काठमाडौँ उपत्यकाले गर्ने अवसर पाएको छ। त्यो पनि उच्च खानदानी घरानीयाका व्यक्तिबाट। अनि राम्रो काम के गरे त भन्ने प्रश्नको जवाफ नै छैन । गरेको भए पो हुन्। नेपाली कराँते लामो समय विवादमा रह्यो । घटनाक्रमले भनेको छ, सन् २०१४ को एसियाली खेलकुदमा झैँ आसन्न एसियाडमा पनि विदेशी भूमिमा नेपालको औपचारिक खेलाडी को ? भन्ने विवाद हुने र नेपाली खेलाडीको मान मर्दन हुने सम्भावना नकार्न सकिँदैन।

प्राय खेलमा रेफ्री निर्णय विवादमा आउने गरेका छन्। रेफ्री निर्णय गलत या सही भन्ने छुटाउने काम सोही खेलका प्राविधिक दक्षको हो। तर, यथार्थ के हो भने समावेशी नेपालमा कराँतेका सयौँ रेफ्री हुँदा हुँदै पनि प्रतियोगिताको दौरान क्षेत्रीय र भौगोलिक रूपमा सम्मानजनक सहभागिता किन भएन ? कि रेफ्री हुन पनि अधिकारी हुन जस्तै काठमाडौं उपत्यकाका खानदानी व्यक्ति हुनु पर्छ भन्ने मान्यता हो ? अहिलेसम्मका रेफ्रीको सङ्ख्या किन त्यस्तो भयो ? अनि धेरै गुनासो गर्ने खेलाडी मोफसलमा किन ? नेपाल कराँते महासंघ अझै यस विषयमा चासो दिँदैन।

अनि प्रशिक्षक नि ?की सिधै भन्न सक्नु पर्‍यो, ‘नेपाली कराँतेमा काठमाडौँ सबै हो भनेर । होइन भने किन भेदभाव । काठमाडौँका प्रशिक्षकले उत्पादन गरेका खेलाडी र दक्षता पछिल्लो समय हेरौँ न । खेल थेग्नु पर्ने ७७ जिल्लाकै सबै मिलेर, अनि जिम्मेवारीमा यत्ति ठुलो भेदभाव। नेपाल कराँते महासंघको वार्षिक क्यालेन्डर छैन । एसियाली खेलकुदको छनोट तालीका छैन।

अधिकारीलाई मन लागेको समयमा छनोट प्रतियोगिता आयोजना हुन्छ । खेलाडीले महासंघको क्यालेन्डर हेरेर आफ्नो योजना बनाउने काम पनि गर्न पाउँदैन । अनि परिवर्तनको ठुला कुरा गरेर हुँदैन महोदय, यो त एउटा छरिएको भ्रम मात्र हो।

केही खेलाडीले पहिलो चरणको छनोट गुमाए । उनीहरूले निवेदन दिए । फेरि उपस्थित हुन पाउँ भन्ने । महासंघले औपचारिक निर्णय पनि गरेको छैन । खेलाडी अन्योलका बिच अस्ट्रेलियामा नै छन् । नवीन रसाइली र सुवास घताने लगायतका खेलाडीको अभावमा हुने राष्ट्रिय टोलीको प्रर्दशन पनि हेर्न धेरै कुर्नु पर्दैन।

नेपाल टेबल टेनिस संघका अध्यक्ष आर्थिक रूपले सम्पन्न र व्यापारिक पृष्ठभूमिका काठमाडौँमा चतुरानन्द राज वैद्य छन् । टेबल टेनिस संघले राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले गर्ने गरेको प्रतियोगिता बाहेक आफैले वार्षिक रूपमा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दैन । अडिट पनि गर्छ या गर्दैन धेरैलाई थाहा छैन । थाहा होस कसरी ? वार्षिक साधारण सभामा अडिट प्रस्तुत गरिने हो । वार्षिक साधारण सभा नै हुँदैन।

अफिसियल प्रतियोगितामा समेत संघले आर्थिक भार आफैले बेहोरेर सहभागी गराउने हिम्मत गर्दैन । अध्यक्ष वैद्य नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष छन् । अध्यक्षको उम्मेदवारीको रूपमा चर्चामा छन् । उनको योग्यता त टेबल टेनिस संघमा नै देखिएको छ । ओलम्पिक कमिटीमा त के कुरा ?

यस्तै हालत अशोक बज्राचार्य रहेको पौडी सङ्घ, सुनिल श्रेष्ठ अध्यक्ष रहेको फेन्सिङ सङ्घ, सरोज मुल्मी अध्यक्ष रहेको नेपाल स्नुकर, विलियार्ड्स एन्ड पुल सङ्घ लगायत प्राय संघको छ । अवस्था खासै फरक छैन । अनि जुडोमा फुपू ल्हामु शेर्पा पिक फर्ममा रहँदा बिदेसिने, दक्षिण एसियाली च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक विजेता सरोज महर्जन बिदेसिने र एक से एक राष्ट्रिय खेलाडी उत्पादन गरेका उत्कृष्ट प्रशिक्षक राजेश कर्माचार्य आफ्नो योग्यता पुष्टि गर्न अमेरिका पुग्नुपर्ने । यो अवस्थाको सृजना कसले ग¥यो ? जुडो निकट श्रोत भन्छ, अध्यक्ष निकट केही व्यक्तिका कारण नै यो अवस्था आएको हो ।

सुटिङ संघको त कुरै नगरौँ । गत दक्षिण एसियाली खेलकुद सबै कुरा नेपालको अनुकूल भएको समयमा पनि नेपाली सुटिङले एउटा पनि पदक जितेन। उल्लेखित सबै अयोग्यता त छदै छ । सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठका अन्य अयोग्यता पनि नभएका होइनन् । आफ्नै व्यक्तिगत मेलबाट संघको काम गर्ने गरेका छन्।

ठेगाना घरको राखिएको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा पत्राचार गर्दा। सोही संघका सचिव प्रदीप खातीले कुनै खेलाडीलाई तिमि मात्र प्रशिक्षणमा आउनु भनेको कुरा सार्वजनिक भई सकेको छ । प्रशिक्षणमा समेत यत्ति धेरै भेदभाव संघले गर्छ भने अन्य के कुराको अपेक्षा गर्ने ? आश्चर्य त यी सबै हुनुका बाबजुद राखेपले कारबाही र विघटनको प्रक्रिया अगाडि बढाउन के ले रोक्यो ? प्रश्न यही हो ।

एथलेटिक्सको त कुरै नगरौँ । राजप्रसादको रूपमा बक्सिसमा प्राप्त थापाथलीको जग्गा नै अध्यक्षको योग्यता हो भने सबैले स्विकार्नु पर्‍यो । अन्यथा एउटा कार्यालय समेत स्थापना गर्न नसकेर थापाथली स्थित महलमा चाकडीमा पुग्नेको इसारामा हजारौँ एथलेटिक्स खेलाडीको भविष्य माथि खेलबाड गर्न मिल्छ या मिल्दैन ?

एथलेटिक्सको यावत कर्तुतलाई ढाकछोप गर्न बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी लागेका छन् । शाह र भण्डारीको त चरित्र मिल्यो । मोर्चा पनि मिल्यो । बजारमा हल्ला छ, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्जेल पनि सो मोर्चालाई साथ दिने अभियानमा छन् ।

विश्वामित्रकै बारे केही कुरा । कालिकोटमा दुर्गम गाउँमा जन्मिएर विलक्षण प्रतिभा र अध्ययनमा तेज यी इन्जीनीयरकै कारण पोखराले छोटो समयमा १३ औ दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो । धेरैले भन्ने पनि गर्थे, ‘विश्वामित्र जस्तो इन्जिनियर राखेपमा थिएन भने पोखराका सबै संरचना सही सह समयमा तयार नहुन सक्थे ।’ तीनै सन्जेलले रमेश सिलवालको विरुद्धमा विद्रोह गरेर राखेपको जागिर छाडेका थिए।

नजिकबाट नियाल्नेहरूको मत छ, ‘उनको स्तर राजीव र सूर्यलालसँग तुलना पन गर्न सकिँदैन।’ त्यसो भए इन्जिनियर सन्जेल आफै नेतृत्व र जिम्मेवारी र प्राप्तिका लागि पर्ने की राजीव र सूर्यलालको कठपुतली बन्ने ? उनको विवेकको कुरा भयो।

ब्याडमिन्टन संघको पनि कुरा गरौँ । एउटा खेलाडी जुनियर विश्व बरीयताका शीर्ष हुँदा राष्ट्रपतिबाट पुरस्कार ग्रहण गर्ने नै अध्यक्ष रामजी बहादुर श्रेष्ठका निकट छन् । अन्य संघमा जस्तै साधारण सभा, अडिट रिपोर्ट र अन्तर्राष्ट्रिय प्रतियोगितामा संघको आर्थिक भारमा सहभागिताका कुरा त परको कुरा भए । अनि आफै पुरस्कार त्यसरी बुझ्ने व्यक्ति नै खेलाडीका नेता ?

औषधी व्यापारी उमेशलाल श्रेष्ठ अध्यक्ष रहेको नेपाल हक्की संघको गतिविधि शून्य छ । उल्लेखित अन्य अयोग्यता त छदै छ । हो, अहिले हामीले लेख्ने र बोल्न पाउने अधिकारको एउटा कारण पुष्पलाल श्रेष्ठ र साहना प्रधानले इतिहासको कुनै कालखण्डमा गरेको समर्पण पनि हो । यसो भन्दैमा त्यसै बहनामा वर्षौँसम्म कुनै खेललाई बन्दी बनाउन मिल्छ ? अनि राखेप कारबाहीको प्रक्रिया किन अगाडी बढाउँदैन ?

यो सबै कुराको मतलब के हो भने कोही काठमाडौँको हुँदैमा खराब पक्कै होइन । धनी व्यक्तिहरू पनि सबै खराब पक्कै हुँदैनन् । तर, धनी हुनु र काठमाडौँको हुनु योग्यताको कारण पनि होइन । जुन, अहिले देखिएको छ । योग्यताको पहिलो आधार जिम्मेवारी प्रतिको प्रतिबद्धताको हो । जसको अभाव, काठमाडौँमा धेरै सम्पन्न परिवारमा देखियो।

‘देश सबैको हो’ भन्ने मुद्दा २०५२ सालमा उठेको थियो । त्यसै मुद्दाका नाममा १७ हजार जनाको ज्यान गएको साँचो हो । अनि त्यसै मुद्दा उठाउने दलका नेतृत्वमा सरकार छ। राखेपको कार्यकारी प्रमुख सदस्य सचिव पनि त्यसै दलका छन् । अनि नेपालको खेलकुद सबैका लागि किन होइन ? बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव त सोही दलका भए पनि सामन्ती चरित्रका अभियन्ता नै भई हाले । उनका हरेक गतिविधिले यही पुष्टि गरेकै छ।

प्रतिक्रिया दिनुहोस्