कराँतेमा विवादै विवाद : राखेपको निर्णय डब्लुकेएफद्वारा अस्वीकार



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल कराँते महासंघको तदर्थ कमिटी गठन गर्दै गरेको निर्वाचनको औचित्यमाथि नै प्रश्नचिन्ह खडा भएको छ। साथै सो महासंघले २१ देखि २३ जुलाईमा मलेसियाको मेलकामा आयोजना हुने १९औँ एसियन सिनियर कराँते च्याम्पियनसिपमा खेलाडी पठाउन नसक्ने भएको छ।

यसैगरी, २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनको ह्वाङझाउमा आयोजना हुने १९ औँ एसियाली खेलकुदमा पनि नेपाली कराँते खेलाडीको सहभागिता विवादास्पद हुने निश्चित भएको छ। विश्व कराँते महासंघ (डब्लुकेएफ) र एसियाली कराँते महासंघ (एकेएफ)ले राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको युवराज लामाको नेतृत्वमा रहेको महसंघलाई मान्यता नदिएर पुरेन्द्रविक्रम लाखेको अध्यक्षतामा रहेको महासंघलाई नै स्वीकार गरेपछि नेपाली कराँतेमा विवादको वातावरण देखिएको हो ।

लाखे नेतृत्वकै कमिटी ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)मा पनि आबद्ध छ । ओसिएले नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गर्दा लाखे नेतृत्वको कराँते महासंघकै नाममा पठाउने गरेको छ। १२ माघमा राष्ट्रिय खेलकुद परिषद्ले युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघ तदर्थ कमिटी गठन गरेको थियो। सोही तदर्थ कमिटीले ११ चैतमा चितवनमा साधारणसभा गरेको थियो। सोही साधारणसभाले लामाकै अध्यक्षतामा कमिटी निर्वाचित गरेको थियो। तदर्थ कमिटी र निर्वाचन अवैध भन्दै धादिङका ध्रुवविक्रम मल्ल र काभ्रेका रेशम लामाले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा विचाराधीन नै छ।

एसियाली सिनियर कराँते च्याम्पियनसिपका डब्लुकेएफ र एकेएफले लाखे नेतृत्वको महासंघलाई पत्राचार गरिसकेको छ। एसियाली खेलकुदका लागि ओसिएले मान्यता दिएको महासंघमार्फत् मात्र काम गर्न नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गरेको छ। लाखे नेतृत्वको कराँते महासंघका उपाध्यक्ष मल्ल साधारणसभामा डब्लुकेएफ र एकेएफको प्रतिनिधि उपस्थित नभएका कारण सो निर्वाचनले मान्यता नपाउने जिकिर गर्छन्।

नेपाल ओलम्पिक कमिटीले लामा नेतृत्वको महासंघले अन्तर्राष्ट्रिय मान्यता पाउने दाबी गरेको छ। ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ निर्वाचनमा ओलम्पिक कमिटीको प्रतिनिधि पनि उपस्थित भएका कारण अन्तर्राष्ट्रिय निकायले पनि मान्यता दिने जिकिर गर्छन् । नेपाल ओलम्पिक कमिटीको अफिसियल वेबसाइटमा भने कसैको पनि नामावली छैन।

पछिल्लो घटनाक्रमले बुधबार भएको छनोट खेलको वैधानिकतामा समेत प्रश्न खडा भएको छ। राखेप समर्पित कराँते महासंघले ८ खेलाडी एसियाली खेलकुदका लागि छनोट गरेको थियो। सोही छनोट खेलको दौरान कराँते प्रशिक्षक दीपक श्रेष्ठ रेफ्री काउन्सिल गएको भन्दै विवाद र झडप भएको थियो। सो झडपका क्रममा महासंघका सचिव ध्वजमान मोक्तान र प्रशिक्षक श्रेष्ठबीच पनि विवाद भएको थियो। झडपमा महासंघका केन्द्रीय सदस्य कृष्ण गौतम घाइते भए। मोक्तानले रेफ्रीको निर्णय गलत भएको आबाज उठाएका थिए।

यस विषयमा निर्णय गर्न राखेप समर्थित नेपाल कराँते महासंघको स्टेरिङ कमिटीकै बैठक बिहीबार बसे पनि घटनाको छानबिन तथा दोषीउपर कारबाहीको प्रक्रिया नै अघि बढेन। लामाले त फेसबुक स्टाटसमा यसलाई सामान्य इस्यु भएको भन्दै टार्न खोजे। बिहीबार बसेको स्टेरिङ कमिटीको बैठकले उपाध्यक्ष ओमकृष्ण प्रसाईंको संयोजकत्वमा १५ दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ३ सदस्यीय छानबिन कमिटी गठन गरेको छ। कमिटीमा रवि मर्हजन र गजेन्द्र साउद सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्