भारतको ओडिशा भयानक रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते



काठमाडौँ । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रवार भएको भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको ज्यान गएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका जनाइएको छ ।

हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि रेल दुर्घटनामा परेको हो । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।ओडिशाका मुख्य सचिव प्रदीप जनाले ट्विट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २३३ पुगेको जानकारी गराएका छन् ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैँ दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

त्यस्तै, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् ।भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्