दोषी ठहरिए कसैलाई छोडीन्न : गृहमन्त्री



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा  जो कोही भए पनि कारबाहीको दायरामा आउने बताएका छन् । नक्कली शरणार्थी प्रकरणमा पछिल्लो समयमा सरकारले थालेको कदमबारे  विभिन्न आशङ्का आइरहेको वेलामा उनले उक्त प्रकरणमा मुछिए माओवादीका नेताहरू भएपनि कारबाहीको दायरामा ल्याइने बताए । शनिवार काठमाडौँमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा गरी दोषीमाथि कारबाही हुने बताए । उनले भने,  ‘तपाईँहरूले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पत्ति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रूपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ । हामी आशा गर्छौँ, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन ।’

उनले भने, हामीले एक दुई वटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौँ । हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टी माओवादीको कोही पर्ला । उनीहरू भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन । त्यसरी नयाँ ढङ्गले काम गर्दछौँ । सबैको सहयोग चाहिएको छ ।’

 कार्यक्रममा विभिन्न प्रलोभनमा पारी रकम असुली गर्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याइने बता बताउँदै उनले भने, ‘हामीले संस्थागत र प्रणालीगत रूपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्क्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु ।’

प्रतिक्रिया दिनुहोस्