लाखौँ रुपैयाँ सहकारीले खाएर भागेपछि, बचत फिर्ताको माग गर्दै प्रदर्शन



काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिले बचत फिर्ताको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार  काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले फिर्ता नगरेको सर्वसाधारणको बचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो रहेको छ ।

सङ्घर्ष समिति अध्यक्ष सुनितासिंह राज भण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकाय धाउँदा कतै बाट पनि  सम्बोधन  नभएको गुनासो पोखेँ । उनले सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूलाई आफैँले नीति नियम बनाउन बन्द गर्नुपर्ने माग गरिन् । सहकारीमा बचत गरेको लाखौँ रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ ।

अध्यक्ष राज भण्डारीले काठमाडौँ  महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको गुनासो गरिन् । अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा रहेको उनको भनाइ छ । पीडितहरूले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ता रकम अविलम्ब फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरूलाई राष्ट्र बैङ्कको निगरानीमा राख्ने व्यवस्था गर लगायतको माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्