जनप्रतिनिधिबाटै घरेलु हिंसा



  • विशाल बस्नेत

महोत्तरी । घरेलु हिंसा अन्त्यका लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि नै पीडक बने भन्दा सबैलाई अचम्म लाग्न सक्छ। तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जनप्रतिनिधि यस्तै अपत्यारिलो घटनाको प्रमाण आफैँ बनेका छन्।

आफ्नै पत्नी र छोरीले वडा–४ का वडाध्यक्ष गणेशप्रसाद महतोले दिने गरेको पीडा सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो। १८ वर्षीया छोरी अल्पनाकुमारी महतोले आमा ललितादेवीलाई दिएको दुःखको विषयमा बुबालाई सम्झाउँदा उल्टै कुटपिट गर्ने गरेको बताएकी छिन्।

‘बुबाको मोबाइलमा अस्वाभाविक हर्कतको विषयमा थाहा पाएपछि सोधेँ । बुबाले उल्टै कुटपिट गर्नुभयो,’ छोरी अल्पनाले भनिन्, ‘घरमा खाना खान कम आउने, ममीको कोठामा नसुत्ने, काली भइस् भन्ने गर्नुहुन्थ्यो।’

टिकटकमा परस्त्रीसँग नाच्ने बुबाको हर्कत शंकास्पद देखिएपछि आमा र परिवारका अन्य सदस्यलाई समेत भनेको उनले बताइन्। गत हप्ता ललितादेवीलाई अध्यक्ष महतोले कुटपिट गरेपछि अहिले उनी माइतमा नै बस्दै आएको भाइ श्यामसुन्दर महतोले बताए।

अध्यक्ष महतोको अस्वाभाविक हर्कतको विषयमा छोरी अल्पनाले टिकटकमा समेत सहायता मागेकी छिन्। आफ्ना बुबाले महिलाहरूसँग अनैतिक सम्बन्ध राखेको, ममीलाई झुक्याएर अर्कै घरजमसमेत गरेको उनले भिडियोमा बताएकी छिन्।

बुबाले ममीलाई गरेको हिंसाको विषयमा आवाज उठाउँदा आफूलाई मरणासन्न हुने गरि कुटपिट गरेको पनि उनको भनाइ छ। अल्पनाको चिउँडो र गालामा निलडाम देखिएको छ भने कुटपिटपछि लालगढ मोडल अस्पतालमा उपचार भएको उनले बताएकी छिन्।

अध्यक्ष महतोको घरेलु हिंसा यो नै पहिलो भने होइन । २०६४ सालमा पनि पत्नी ललितालाई निर्घात कुटपिट गरेपछि प्रहरी कार्यालयबाट कागज गरेर मिलापत्र भएको पाइएको छ। कागजमा पत्नी र परिवारका सदस्यहरूलाई कुनै दुःख नदिने प्रतिबद्धता जनाए पनि पुनः घटना दोहोर्‍याएको स्थानीय बताउँछन्। अध्यक्ष महतो वडामा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै अर्की पत्नी रहेको पनि खुलासा भएको छ। तर, कान्छी पत्नी र छोराछोरीको विषयमा उनले गुपचुप बनाएको पत्नी ललितादेवीले बताइन्।

जनप्रतिनिधि बन्नुभन्दा पहिला अध्यक्ष महतो प्रायः बाहिर नै बस्ने गरेको पनि ललिताको भनाइ छ। ‘अहिले श्रीमान् घरमै बसे पनि सम्बन्ध भने श्रीमती–श्रीमान्को जस्तो छैन,’ उनले भनिन् । पीडित भनिएका छोरी र श्रीमतीले भने सुरक्षाको माग गर्दै प्रहरीलाई उजुरी दिने तयारी गरेका छन् ।

सञ्चारकर्मी र सामाजिक सञ्जालबाट घटनाको विषयमा सार्वजनिक गरे पनि उनीहरूले अहिलेसम्म प्रहरीकहाँ उजुरी नदिएको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । पीडित पक्षबाट उजुरी आए अनुसन्धान गर्ने उपरीक्षक मल्लको भनाइ छ।

महतो भन्छन्– बद्नाम गर्न खोजियो
छोरी र पत्नीले आरोप लगाएको जस्तो अवस्था नभएको अध्यक्ष महतोको दाबी छ। परिवारका लागि आफूले दायित्व निर्वाह गरिरहेको दाबी गर्दै आरोप लगाउनु नै रहस्यमय भएको उनले बताए।

‘माइती पक्ष, मेरा सालाहरूले नै घर झगडा गराउन उचालिरहेका छन्,’ अध्यक्ष महतोले भने, ‘मलाई जनताको काम गर्दा नै फुर्सद छैन। अनि घरमा कता झगडा गरेर बसौँ।’

२०६४ सालमा घरमा सामान्य झगडा पर्दा प्रहरीसमक्ष उक्त विषय पुगेपछि भने आत्मालोचना गरेको अध्यक्ष महतोले स्वीकार गरे। घटनाको पुष्टि भए आफू सजायको भागिदार हुने पनि अध्यक्ष महतोले बताएका छन्।

छोरीले सामाजिक सञ्जालबाट बद्नाम गर्न खोजे पनि उनीहरूको उचित हेरचाह गर्न कहिल्यै पछि नपरेको अध्यक्ष महतोले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्