
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिज जितेको छ। आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले जितेको हो।
आज मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ओपनिङ ब्याटर सीता रानामगरले ३४ र कप्तान रूबिना क्षेत्रले २३ रनको योगदान गरिन्। अप्सरी बेगमले १३ बलमा नटआउट १५ रन जोडिन्। यस्तै ज्योति पाण्डेले नटआउट ११ रन जोडिन्। बलिङमा मलेसियाकी एइना हसिमले २ विकेट लिइन्।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेटको क्षतिमा १०९ रन बनाएको थियो। मलेसियाका लागि ओपनरद्वय एनी दुराइसिघंमले २४ रन र वान जुलियाले ४७ रन बनाएकी थिइन्। यस्तै महिरा इस्माइलले २० रनको योगदान दिए। नेपालकी कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिइन् ।