नयाँ कर व्यवस्थाबाट सरकार ‘ब्याक’ भएपछि बजारमा चहलपहल 



काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से साताको पहिलो कारोबार दिननै भारी अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा गरिएको नयाँ कर व्यवस्थाले घटेको बजार, सरकार सो निर्णयबाट ‘ब्याक’ भएपछि बजारमा सुधार आएको हो ।

आज अर्थमन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७‍‍‍.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचक बढेको हो।

आज आइतबार नेप्से परिसूचक ५३.०३ अंक उकालो लागेको हो आज नेप्से उकालो लागेसँगै १९१९.३७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.४९,फ्लोट इण्डेक्स ३.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अङ्कले उकालो लागेको हो । आज कारोबारमा आएका विभिन्न २७० स्टकको ३१ हजार २५२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 आज आइएमइ जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटेल, तारागाउँ रिजेन्सी होटेल र महुली लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज १७ स्टकको  मुल्य भने ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा  शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सोल्टी होटलको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बिमा उपसमूहको परिसूचक साढे ४ प्रतिशत बढेको छ भने विकास बैङ्क, वित्त, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्