गहुँको बिल बनाएर मल तस्करी



काठमाडौँ । गहुँ बोकेको झुटो विवरणसहित युरिया मल ढुवानीमा प्रयोग भएको मालवाहक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मलसहितको ट्रक नवलपरासीस्थित सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो ।

४२० बोरा गहुँको बिल काठमाडौँस्थित श्रेष्ठ किराना स्टोरको नाममा जारी भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५२६० नम्बरको ट्रक आइतबार नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र मुख्यालयले जनाएको छ ।

यसअघि गत शुक्रबार (१९ जेठमा) सोही प्रकृतिको बिल बनाएर अवैध युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रकसमेत सोही बेसले नियन्त्रणमा लिएको थियो । बरामद मल भारतमा उत्पादन र प्याकेजिङ भएको पाइएको छ ।

गत शुक्रबार सशस्त्रको राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बेबी अम्रेला (बच्चाको छाता) बोकेको ट्रक नियन्त्रणमा लिएको थियो । राजश्व छलिको आशङ्कामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको थियो । ३ वटै थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं मुख्यालयका सहायक प्रवक्ता सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार गत बिहीबार (१८ जेठमा) भन्सार छलेर कपडासहित नेपाल भित्रिएको ना ६ ख ६६६४ नम्बरको मिनी ट्रकलाई पनि सशस्त्रको ३ नं कंकालिनीमाई गणले नियन्त्रणमा लिएको थियो । विराटनगरबाट ५५ लाख १२ हजार ९६२ रुपैयाँ बराबरको कपडा बरामद भएको सो ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्