अटो र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु



काठमाडौँ । दाङमा अटो र मोटरसाइकल ठोक्किँदा १ जनाको  ज्यान गएको छ भने,अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा अटो चालक घोराही उपमहानगरपालिका-५ का ३२ वर्षीय किरण रोका रहेका छन् । दुर्घटना पश्यात घाइते भएका रोकको स्वास्थ्य चौकी सिसहनियामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अटोमा सवार घोराही उपमहानगरपालिका-१८ मसिनाका ५० वर्षीय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ वसन्तपुरका ३३ वर्षीय दोर्णबहादुर चौधरी र मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी ३० वर्षीय सुन्दर चौधरी घाइते  भएका जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-४ स्थित श्रीनारायण चोकमा घोराहीबाट भालुवाङ आउँदै गरेको भे १२ प नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फ जाँदै गरेको रा १ ह ५६०३ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्