सुदूरपश्चिम प्रदेशसभा : आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित



काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि विधेयकमाथि आजको बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य प्रकाशबहादुर बम, ओमविक्रम भाट, वीरवहादुर थापा, टीका थापा र जुनाकुमारी दानीले भाग लिनुभएको थियो ।

पारित विधेयकमा निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनमा कर लगाउने व्यवस्था गरिएको छ । प्रदेशमा विद्युतीय सवारी साधनमा कर लगाउने यो नयाँ व्यवस्था हो । पारित विधेयकमा निजी विद्युतीय सवारी साधनतर्फ मोटरसाइकल र स्कुटरमा रु एक हजारदेखि रु तीन हजार कर लाग्ने व्यवस्था छ ।

यस्तै निजी कार, जीप, भ्यान, माइक्रो बस र बसमा रु १० हजारदेखि रु ३० हजारसम्म र सार्वजनिक विद्युतीय सवारी साधनतर्फ कार, जीप, भ्यान, माइक्रोबस र बसमा रु दुई हजारदेखि रु १५ हजारसम्म कर लगाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्