नक्कली भुटानी शरणार्थी प्रकण: सोमबार पनि थुनछेक बहस हुँदै



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने गिरोहमा संलग्न दलका नेता, कर्मचारी हुँदै बिचौलियासम्मको जिल्ला अदालत काठमाडौंमा बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु भएको छ।

मुद्दाको थुनछेक बहसका लागि आरोपितहरू बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत १८ जनालाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको थियो।

उनीहरूले अदातलमा दिएको बयान प्रहरी तथा सरकारी वकिलसँग भन्दा फरक छ। पक्राउ परेका १८ जना प्रतिवादीको जिल्ला अदालत काठमाडौंमा बयान सकिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार अदालतमा उपस्थित भएका हरिभक्त महर्जनको शुक्रबार अदालतमा बयान लिएसँगै सबैको बयान सकिएको थियो।

बयान सकिएसँगै आइतबारदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो। आइतबार जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ। इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट बहसका लागि सरकारी वकिललाई ३ दिनको समय दिएका छन् भने प्रतिवादीका तर्फका वकिललाई ६ दिनको समय दिइएको छ।

न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालयका २ जनाले बहस गरेका छन्। जसमा महेश खत्री र जनक घिमिरेले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट अब सीताराम अर्याल, दिनेश घिमिरे, सुरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्न बाँकी छ।

बुधबारदेखि प्रतिवादीका कानुन व्यवसायीले बहस सुरु गर्नेछन्। ३० जेठसम्म प्रतिवादीका कानुन व्यवसायीलाई बहस गर्ने समय दिइएको छ। ३१ जेठको साँझसम्म थुनछेक आदेश सुनाउने तयारी छ। उता, प्रतिवादीका तर्फबाट बहस गर्न ५० जनाभन्दा बढी कानुन व्यवसायीले नाम टिपाएको जिल्ला अदालतले जानकारी दिलएको छ। जसमा प्रेमबहादुर खड्का, शेरबहादुर केसी, थम्मबहादुर खाती, केशव बडालसहितका कानुन व्यवसायीहरू छन्।

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका वकिलले बहस गर्नेछन् । अन्तिममा सरकारी वकिलको जबाफी बहसपछि अदालतबाट थुनछेक आदेश हुनेछ । प्रक्रिया टुंगिन अझै करिब ९ दिन लाग्ने देखिन्छ। थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने विषयमा टुंगो लाग्नेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका छन्।

आइतबार बयान दिएका पूर्वगृहमन्त्री खाणले त घटनामा संलग्न आरोपमा अनुसन्धानको दायरमा रहेका नेता, सचिव र आफ्ना स्वकीय सचिवबाहेक कसैलाई नचिनेको बयानसमेत दिएका थिए । यतिमात्र होइन, पूर्वगृहमन्त्री खाणले भुटानी शरणार्थीलाई पुनर्बास गराउने विषयमा गठित कार्यदलको प्रतिवेदन साटफेर भएको विषयसमेत आफूलाई जानकारी नभएको जबाफ दिएर पन्छिए।

उनले प्रतिवेदन राख्ने सम्बन्धित शाखाका कर्मचारीलाई नै यस विषयमा जानकारी हुनेमात्र बताएनन्, राजनीतिक करिअर सिध्याउन राज्यले आफूमाथि षड्यन्त्र गरेको समेत भन्न भ्याए। नेताहरूले अस्वीकार गरे पनि पक्राउ परेकाले घरसमेत बन्धकी राखेर नेता र उनका छोरालाई नगद बुझाएको बयान दिइरहेका छन्। आरोपित रामशरण केसीले बादलका छोरालाई घर बन्धकी राखेर रकम दिएको बयान अदालतमा दिए।

३० जनाविरुद्ध दर्ता भएको मुद्दामा जिल्ला अदालतमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणदेखि पूर्वमन्त्री टोपबहादुर रायमाझीसम्म नेताहरूले बयान दिएका थिए। अदालतमा बयान दिएका सबैजसोले घटनामा संलग्नता अस्वीकार गरे पनि एकले अर्कालाई दोष देखाएका थिए। प्रहरी, सरकारी वकिल हुँदै जिल्ला अदालतसम्म लिइएको बयानमा पनि उनीहरूको कुरा परस्परमा बाझिइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्