भारतसँगको सहकार्यबारे प्रतिष्ठान नै अनभिज्ञ



काठमाडौं । परराष्ट्र मामला अध्ययन प्रतिष्ठान (आइएफए) र भारतीय विदेश मन्त्रालय मातहतको थिंक ट्यांक ‘सुष्मा स्वराज विदेश सेवा संस्थान (एसएसआइएफएस) बीचको सहकार्यबारे प्रतिष्ठानका अधिकारी अनभिज्ञ छन्।

यी दुवै निकायबीच समझदारी भएको ५ दिन नाघ्दै गर्दा प्रतिष्ठानले औपचारिक जानकारी पाएको छैन। गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा प्रतिष्ठान र एसएसआइएफएसबीच सहकार्य गर्नेबारे समझदारी भएको थियो।

‘छिमेकी र मित्र देशका उस्तै प्रकृतिका संस्थासँग सहकार्य र हातेमालो हुनु राम्रो कुरा हो,’ प्रतिष्ठानका अधिकारीहरू भन्छन्, ‘समझदारीअनुसार कहिलेदेखि के कस्ता गतिविधि सुरु हुने र सहकार्य कस्तो प्रकृतिको हो, हामीले औपचारिक जानकारी पाएका छैनौँ।’

प्रधानमन्त्रीको भ्रमण र समझदारीताका प्रतिष्ठानको प्रतिनिधित्व नभएकाले समझदारी र सहकार्यको मोडालिटीबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी नगराएको उनीहरूको तर्क छ। आइएफए र एसएसआइएफएसको सहकार्यबारे भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र उनका नेपाली समकक्षी नवीन श्रीवास्तवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सन् १९८६ मा स्थापना भएको एसएसआइएफएसले नेपालसहित ९९ देश र संस्थासँग समझदारी गरेको छ। नेपालसँग १ जुन, २०२३ (गत १८ जेठमा)मा समझदारी भएको एसएसआइएफएसले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

२०५४ मा स्थापना भएको प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्ध सरकारी निकाय हो। नवनियुक्त राजदूत, महावाणिज्यदूत तथा परराष्ट्र सेवाका कर्मचारीलाई अनुशिक्षण तथा सेवाकालीन तालिम प्रदान गर्दै आएको प्रतिष्ठानले परराष्ट्र नीति, आर्थिक कूटनीति, श्रम कूटनीतिलगायत विषयमा विषयविज्ञहरूसहित अन्तक्र्रिया र छलफल गर्दै आएको छ।

यसअघि प्रवासी भारतीय केन्द्रका नाममा सञ्चालित एसएसआइएफएस ३ वर्षअघि पूर्वविदेशमन्त्री सुष्मा स्वराजको नाममा रूपान्तरण भएको थियो। भारतीय विदेश मन्त्रालयको सचिव तहका अधिकारीले नेतृत्व गर्ने एसएसआइएफएसले भारतीय विदेश सेवामा आबद्ध वरिष्ठदेखि कनिष्ठ अधिकारीहरूसहित विभिन्न देशमा खटिएका राजदूत र नियोगका वरिष्ठ अधिकारीहरूलाई आर्थिक कूटनीति र अन्य विषयबारे तालिम र अनुशिक्षण प्रदान गर्दै आएको छ।

आइएफएकै आग्रह र सुझावअनुसार परराष्ट्र मन्त्रालयको पहलमा एसएसआइएफएससँग समझदारी भएको र दुवै निकायको सहकार्यबारे केही दिनभित्रै विस्तृत जानकारी आइएफएले पाउने परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताए।

दुवै निकायबीच कूटनीतिक क्षमता र अनुभव आदानप्रदानको सहकार्य अघि बढ्ने बताउँदै उनले भने, ‘समझदारीअनुसार नेपालको परराष्ट्र सेवामा आबद्ध भएकाहरूले तालिम र अन्य ‘सर्ट टर्म’ कोर्स गर्न पाउनेछन्।’

एसएसआइएफएससँग परराष्ट्र सेवाको दशकौँँ लामो अध्ययन अनुसन्धान रहेकाले सो संस्थाका अधिकारीहरूलाई नेपाल बोलाएर यो विषयबारे आइएफएले अनुशिक्षण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने मोडालिटी तय भएको सुवेदीले प्रष्ट्याए। भारतीय परराष्ट्र सेवामा वर्षौं लामो अनुभव लिएर निवृत्त सचिव तहका व्यक्तिले एसएसआइएफएसको नेतृत्व सम्हाल्दै आएका छन्। यो संस्थाको नेतृत्व गर्ने व्यक्तिलाई डिन पद दिइएको छ।

परराष्ट्रमन्त्रीको अध्यक्षतामा रहने प्रतिष्ठानमा ५ वर्ष वा सोभन्दा बढी अवधि सह–सचिवको जिम्मेवारी सम्हालेका व्यक्तिले प्रतिष्ठानको नेतृत्व सम्हाल्ने गर्छन्। विगत १ वर्ष १ महिनायता प्रतिष्ठानले कार्यकारी निर्देशक पाएको छैन।

यसअघिका कार्यकारी निर्देशक राजेश श्रेष्ठको ३ वर्षे कार्यवधि ७ वैशाख, २०७९ मा सकिएपछि मन्त्रालयले सो पदका लागि उपयुक्त पात्र चयन गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्