च्याम्पियन बन्ने अभियानमा निमा



काठमाडौँ । लामो समय बालाजु कराते एकेडेमीमा आबद्ध थिए, श्याम सुनुवार । नेपाली करातेको इतिहास बुझ्नेहरुले श्यामलाई च्याम्पियन उत्पादकको रुपमा चिन्दा फरक पर्दैन । त्यसो त, सुनील लामा पनि बालजुकै उत्पादक । साग स्वर्ण पदकधारी मात्र होइनन्, एसियाली सितेरियो कराते च्याम्पियन पनि हुन् । दिगम्बर पन्त विश्व कराते च्याम्पियनसिपका रजत पदक विजेता । कुशल श्रेष्ठ साग स्वर्ण पदकधारी मात्र होइनन्, नेपाली राष्ट्रय कराते टोलीका प्रशिक्षक । समकालीन नेपाली कराते प्रशिक्षकमध्ये राष्ट्रिय टोली हेर्न सबैभन्दा लायक व्यक्तित्व पनि ।

सुनीलले च्याम्पियन जन्माउने हेतुले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट एकेडेमीमा श्याम पनि पुगे । अन्तर्राष्ट्रिय प्रतियोगितामा दिगम्बरको प्रशिक्षणमा सफलता पाइसकेको छ । कुनै समय कुशल पनि पुग्ने गर्छन्, बालाजुस्थित एकडेमीमा अतिथि प्रशिक्षकको रुपमा । श्याम त्यहाँका नियमित प्रशिक्षक भइहाले ।

संयोगबीच धेरै खेलाडीले आफ्नो सुन्दर भविष्यको सपना देख्न थालेका छन् । यसै बाटोमा अग्रसर पनि छन् ।
यसै एकेडेमीकी उत्कृष्ट खेलाडी निमा तामाङ । १८ वर्षीय निमाले २ देखि ४ डिसेम्बरमा मलेसियामा भएको सातौं एकल मेयरमा स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि नै च्याम्पियन्सलाई आफ्ना खेलाडी सर्वत्र छाउन सक्ने विश्वास जागेको थियो । तिनै निमाले यसअघि नै गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा कास्य पदक जितेकी थिइन् ।

उनले टिम कुमुतेमा कास्य पदक जितेकी हुन् । यसैगरी सातौं उमा ओपन कराते च्याम्पियनसिपमा पनि उनले पहिलो स्थान हात पारेकी थिइन् । पहिलो उपमेयर कप कराते च्याम्पियनसिपकी विजेता उनी जुनियर तहदेखि नै सफल खेलाडी हुन् । एक पटक खुला अन्तर्राष्ट्रिय जुनियर च्याम्पियनसिपमा सफलता पाएकी उनले मेयर कप करातेको पहिलो संस्करणमा भने कास्य पदक जितेकी थिइन् ।

पहिलो सरस्वती कपको विजेता उनी दोस्रो बागमतीस्तरीय मेयरमा उपविजयी भएकी थिइन् । बहुमुखी प्रतिभाकी धनी उनी सो प्रतियोगिताको काता स्पर्धामा कास्य पदक जित्न सफल भएकी थिइन् ।

पहिलो दिलबहादुर रम्तेल स्मृति च्याम्पियनसिपमा कास्य पदक जितेकी उनले गत वर्षको देउराली ओपनमा दोस्रो स्थान पाएकी थिइन् । दोस्रो खुला नेपाल कराते च्याम्पियनसिपमा उनले ५५ किलो तौल समूहमा दोस्रो स्थान पाएकी थिइन् । पहिलो मेयर कप ओपन कराते च्याम्पियनसिपमा उनले ५५ किलोमा पहिलो स्थान पाएकी थिइन् ।

निमा च्याम्पियन्स प्रशिक्षणमा झनै उत्साहित छन् । भन्छिन्, ‘श्याम गुरुकै प्रशिक्षणमा रहेपछि च्याम्पियन्स हुने विश्वास भइहाल्छ,’ प्रशिक्षकप्रति उनको पूर्ण विश्वास छ । त्यसो त, सुनील पनि आफ्नो एकेडेमीलाई सार्थक बनाउन पहिलो ब्याचकै खेलाडी सफल हुनेमा ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्