गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड खप्तडमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खप्तड पुगेका छन् । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा खप्तड त्यहाँ पुगेका हुन् । मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ ।

मेलामा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत नेता पनि खप्तड उपस्थित रहेका छन् । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायतका प्रदेशका नेताहरू पनि खप्तड पुगेका थिए ।

खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत मङ्गलवार हेलिकप्टरमा खप्तड आएका छन् । सम्मेलनको पहिलो दिन मङ्गलवार बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्