आरजु, प्रेम राईहरुको पनि बयान किन नलिने भन्दै उठ्यो प्रश्न 



 काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जिल्ला अदालत काठमाडौँमा आरोपितहरू विरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको छ । मङ्गलवार अपराह्न जाहेरीकर्ताहरूको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपितहरूले बयानमा नाम लिएकाहरूको पनि बयान लिनुपर्ने माग गरेका छन् ।

उनले जिल्ला अदालत काठमाडौँमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिँदै आरोपितले बयानमा नाम लिएकाहरूलाई पनि अदालतमा झिकाइनुपर्ने बताएका हुन् ।

अधिवक्ता कट्टेलले भने, ‘जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने रु’ उनले प्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले बालेका  व्यक्तिहरूले उन्मुक्ति पाउन नहुने बताए ।

अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा.अजयक्रान्ति शाक्य, तत्कालिन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताए । त्यसैगरी तत्कालिन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै उनीहरूमाथि समेत बयान हुनुपर्ने माग गरे ।

खास गरी अडियोमा नाम जोडिएका, आरोपितहरूले पैसा बुझाएको भनी नाम पोलेकाको हकमा बयान हुनैपर्ने भन्दै उनले यो प्रकरणमा भएको प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठाएका हुन् । उनले रकम लिएको आरोप खेपेका आरजु देउवा, मञ्जु खाँण, नैनकला थापा, प्रेम राई लगायतको बयान लिनैपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्