‘रोजगारी सिर्जनामा ध्यान दिनुपर्छ’



काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँहरुले रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको समुचित प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उद्योग, खानी, कृषि, पर्यटन, सडक पूर्वाधार, विपद् व्यवस्थापनका बारेमा बजेटले प्राथमिकता दिनुपर्ने उहाँहरुको भनाइ थियो । उहाँहरुले निर्यात बढाउन र आयात घटाउने नीति लिइनुपर्ने बताउनुभयो । सांसदहरुले छोटी भन्सार कार्यालयको निर्माण र साधारण खर्च घटाउनका लागि उच्च पदस्थ सरकारी पदाधिकारीको तलबमा केही प्रतिशत रकम कटौती गर्न सुझाव दिनुभयो ।

सांसद माधव सापकोटाले कृषि क्षेत्रप्रति किसानलाई आकर्षित गर्न सक्नुपर्ने बताउनुभयो । “हाम्रो कृषि किन निर्वाहमुखी मात्र भइरहेको छ, कृषि पेशा अङ्गाल्नुमा नगारिकले किन गर्व गर्दैनन्, यसको कारण खोज्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद भानुभक्त जोशीले बजेटमा विकास खर्च कम र साधारण खर्च धेरै बढेको भन्दै साधारण खर्च कटौतीतर्फ सरकारको ध्यानआर्कषण गराउनुभयो ।

सांसद अब्बदुल खानले सीमा नाकामा छोटी भन्सारको निर्माण गरेर चुहावट रोक्दै राजस्वमा वृद्धि गर्न सुझाव दिनुभयो । सांसद रामप्रकाश चौधरीले भूमिहीन दलित, सुकुम्वासी एवं अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा जग्गा बिक्री गर्न नपाइने व्यवस्था गर्न सुझाव दिनुभयो ।

सांसद विराजभक्त श्रेष्ठले बजेटले मुलुकको प्राथमिकता किटान र कृषिको व्यवसायिकीकरणमा ध्यान दिन नसकेको बताउनुभयो । सांसद बुद्धिमान तामाङले साधारण खर्च घटाउने ठोस योजना बजेटले प्रस्तुत गर्न नसकेको बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २४ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्