रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चद्धारा कारण देखाऊ आदेश जारी



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश  जारी गरेको हो । सो मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश भएको हो ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरूको नाममा कारण  देखाऊ आदेश जारी गरेको हो । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै घटनमा मृत्यु भएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शितलनिवास तथा रमेशलाल चौधरीलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् । राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राखिनुपर्ने कडायतको माग रहेको छ ।

कडायतले रिट दर्ता गर्दै राष्ट्रपतिको निर्णयले कानुन र न्यायलाई नै चुनौती दिएको आरोप लगाएकी छिन् । अदालतले न्याय दिनेमा विश्वास राखेको भन्दै अदालतबाट न्याय नमिले अन्तर्राष्ट्रिय अदालतसम्म जाने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्