बङ्गलादेशले माग्याे ‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण



काठमाडौँ । बङ्गलादेशले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गरेको छ । बङ्गलादेशले अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरणका लागि माग दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ ।

बङ्गलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको  जानकारी गराएका हुन् ।

उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जानकारी गराए ।

बङ्गलादेशको विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बङ्गलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमले स्पष्टीकरण माग गरेका हुन् ।

‘नक्सालाई लिएर व्यापक आक्रोश देखिएको छ । यसको स्थापनामा कुनै शङ्का छैन । यद्यपि, थप स्पष्टीकरणको लागि, हामीले दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौँ,’ विदेश राज्यमन्त्री आलमको भनाइलाई उद्धृत गर्दै ढाका ट्रिब्यूनले सामग्री प्रकाशन गरेको छ ।

भारतको नयाँ संसद् भवनमा राखिएको उक्त नक्सा २८ मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेपछि उक्त नक्साको विभिन्न देशहरूले विरोध जनाएका छन् ।

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भ्रमणका क्रममा उक्त विषयलाई नउठाएको भन्दै संसद्मा प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्