एजेन्सी : विश्व नम्बर एक नोभाक जोकोभिचलाई स्तब्ध पार्दै जर्मनीका एलेक्सान्दर भेरेभले एटीपी फाइनल्सको उपाधि जितेका छन् ।
प्रतियोगिताका बलियो दाबेदार सर्वियन खेलाडी नोभाक जोकोभिचलाई २–० को सेटमा हराउँदै भेरेभले वर्षको अन्तिम टेनिस प्रतियोगिताको उपाधि उचाले । भेरेभको करियरको यो सबैभन्दा ठूलो उपाधि हो ।
भेरेभले ३१ वर्षीय जोकोभिचलाई ६–४ र ६–३ को सहज सेटमा हराए । तेस्रो वरियताका भेरेभले पहिलो सेटमा जोकोभिचले लिएको ५–४ को अग्रता उल्टाउँदै ६–४ को जित निकालेका थिए । २१ वर्षीय भेरेभले जोकोभिलाई खेलभरी नै दबाबमा राखे ।
दोस्रो सेटमा अझ उत्कृष्ट प्रदर्शन गरेका भेरेभले विश्व नम्बर एकमाथि ६–३ को जित निकाले । यसअघि सेमिफाइनलमा भेरेभले स्वीस खेलाडी रोजर फेडेररलाई हराएका थिए । ‘करियरको सबैभन्दा ठूलो उपाधि जित्दा म अति नै खुसी छु । मैले विश्वास गर्न सकिरहेको छैन,’ जितपछि भेरेभले भने ।
‘तिमीले समूह चरणभन्दा धेरै राम्रो खेल्यौ, जितका लागि हकदार थियौ,’ पराजित जोकोभिचले भेरेभलाई भने ।