स्वास्थ्य मन्त्री बस्नेतले गरे हेटौडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरीक्षण



हेटौडा ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको  मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् । काठमाडौँका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरूले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन ।

हेटौडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए । अस्पतालमा उपचाररत बिरामीहरूसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । निरीक्षण पछि मन्त्री बस्नेतले देश भरिका अस्पतालहरूले १० प्रतिशत शय्या विपन्नका लागि छुटाएर नि शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए । देशका अधिकांश सरकारी अस्पतालहरूले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’

जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारबाही गर्न आफू पछि नपर्ने दाबी गरे । कार्यक्रममा हेटौडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी गराएका थिए ।

त्यसैसरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरीक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका विषयमा जानकारी लिएका छन् ।
सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्