आर्थिक विकासका लागि अर्को क्रान्ति नै गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई  चलायमान गर्न कालागि आर्थिक क्रान्ति आवश्यकता रहेको बताएका छन् । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन  क्रान्तिको आवश्यकता रहेको बताएका हुन् ।

देशको आर्थिक अवस्था नाजुक भएको वेला यसलाई चलायमान बनाउने काम निजी क्षेत्र र पर्यटन व्यवसायले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ ।

रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठुलो सहयोग पुग्ने प्रचण्डको भनाइ रहेको छ । नेपाल पर्यटकका लागि सम्भाव्य सबै क्षेत्रको विकास गर्नु आवश्यक रहेको उनको भनाइ रहेको छ ।

पर्यावरणीय महत्त्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरूको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिए । अहिलेको सरकारले सबैलाई साथमा लिएर नीति तथा कार्यक्रम बनाउने काम गरेको प्रचण्डको दाबी रहेको छ ।

प्रचण्डले पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटेललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने बताए ।

 प्रधानमन्त्रीले पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद भएको उल्लेख गर्दै कृषि, म्यानुफेक्चरिङ, उद्योग एवम् वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र वित्तीय क्षेत्र बलियो र स्थिर हुने उल्लेख गरे । उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने उनले बताए । अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्