वीर अस्पतालले सञ्चालनमा ल्यायो राष्ट्रिय ब्रेन ट्युमर केन्द्र



काठमाडौँ । वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्र सञ्चालनमा ल्याएको छ । बिहीबार ब्रेन ट्युमर दिवसको अवसर पारेर अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा।भुपेन्द्रकुमार बस्नेतले केन्द्रको उद्घाटन गरेका हुन् ।  ब्रेन ट्युमर केन्द्रमा एक सातासम्म निःशुल्क सर्जरी  गरिने भएको छ ।

वीर अस्पताल न्युरो सर्जरी विभागका प्रमुख प्रा। डा। राजीव झाले ब्रेन ट्युमरका बिरामीलाई उत्कृष्ट सेवा दिने, यसबारे अनुसन्धान र न्युरो सर्जनको जनशक्ति बढाउने उद्देश्यले ब्रेन ट्युमर केन्द्र सञ्चालनमा ल्याएको जानकारी गराए ।

 उनले भने, अहिलेसम्म अन्तर्राष्ट्रिय अनुसन्धानलाई मात्र आधार मानिरहेका छौँ । अब स्वदेशमै ब्रेन ट्युमर केन्द्रबाटै बिरामीको अनुसन्धान गर्न सक्छौँ । अनुसन्धान गर्न सके बिरामीको प्रकृतिअनुसारको नयाँ खोज र उपचार गर्न नेपालमै सम्भव हुन्छ ।  वीर अस्पतालमा ब्रेन ट्युमरको मात्रै ७०० भन्दा बढी शल्यक्रिया भइरहेको डा झाले जानकारी गराए ।

अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले ब्रेन ट्युमर केन्द्रसँगै अन्य विशिष्ट सेवा पनि थप्दै लगिने बताएका छन् । कार्यक्रममा प्याथोलोजी विभागकी प्रमुख डा। प्रतिभा विष्टले गत वर्ष परीक्षण गरिएका साढे ६ हजार ५०० बायोस्पीको नमुनामध्ये सबैभन्दा बढी ग्लाइमाको ट्युमर २८.९ प्रतिशत देखिएको जनाइन् ।

हाल वीर अस्पतालमा ६ जना न्युरो सर्जन छन् । वीर अस्पतालले नयाँ भवनमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्