राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौता, श्रमिकलाई सहज



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ । बिहीबार काठमाडौँमा  दुई देशका मानवअधिकार समितीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

अब नेपालबाट रोजगारीको लागि कतार पुगेका नेपालीहरूको मानवअधिकार हनन भएको बारेमा त्यहाँस्थित कतारको मानव अधिकार समितिमा उजुरी दिन पाइने भएको छ ।

 राष्ट्रिय मानव अधिकार आयोग, नेपाल कामु सचिव मुरारीप्रसाद खरेलले कतारको मानव अधिकार समिति र नेपालको मानव अधिकार आयोगको बीच तीन वर्षको लागि एमओयु भएको जानकारी गराए । उनले कतारमा काम गर्ने नेपाली कामदारहरूको हक र अधिकार संरक्षणका लागि यो सम्झौताले महत्त्वपूर्ण रहने जनाइएको छ ।

उनले कतारमा भएका नेपालीहरूको मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि बताए । उनले समितिले कतारमा रहेका नेपालीहरूको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीहरूले काम गर्ने कम्पनीहरूको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्