जनप्रतिनिधिसँग विद्यार्थीको आक्रोश: शिक्षक खोई मेयरसाब !



  • विशाल बस्नेत

महोत्तरी । मधेसकै शैक्षिक हबका रूपमा विकास भएको भनिएको बर्दिबासको शैक्षिक गुणस्तरको चर्चा जिल्लाभर हुने गर्छ। अझ ३ पटक यसै क्षेत्रबाट निर्वाचित पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको क्षेत्र भएकाले पनि आममानिसले हेर्ने दृष्टिकोण नै फरक छ।

तर, नगरभरको विद्यालयको प्रतिनिधित्व हुने गरी गरिएको एक अन्तरक्रिया कार्यक्रमले भने ‘हेभीवेट’ नेतालाई मात्र गिज्याएको छैन, निर्वाचित जनप्रतिनिधिको काममाथि नै अविश्वास पैदा भएको छ।

बिहीबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री नगरभरका विद्यालयबाट प्रतिनिधित्व गरेर आएका विद्यार्थीको प्रश्नले घेरिए। निर्वाचित भएदेखि शिक्षामा उल्लेख्य परिवर्तन गरेको दाबी गर्ने मेयरको अभिव्यक्तिमा विद्यार्थीले कमजोरीबारे ध्यानाकर्षण मात्र गराएनन्, शैक्षिक गुणस्तरमाथि समेत प्रश्न गरे।

महोत्तरीको बर्दिबासस्थित श्री मावि प्रेमनगरका ९ कक्षामा अध्ययनरत निमेष मण्डलले विद्यालय व्यवस्थापन समितिको बैठक बस्दा पनि पढाइ नहुने गरेको गुनासो पोखे । ‘हप्तामा २ दिन बैठक बस्छ, त्यो अवधिमा विद्यालयमा पढाइ हुँदैन,’ उनले भने।

शैक्षिक गुणस्तरमा वृद्धि गर्ने नाममा नगर प्रमुख क्षेत्रीले करारमा काम गरिरहेका पुराना शिक्षकहरू हटाएका थिए। तर, विद्यार्थीले भने मेयरको कदमपछि १ वर्षसम्म विषयगत शिक्षकको अनुहारसम्म हेर्न नपाएको गुनासो गरे।

अत्यधिक गर्मीमा विद्यालयमा पंखा नहुनु, शौचालय नहुनु, बर्खायाममा छानाबाट पानी चुहिएर कोठाभित्र छिर्नु जस्ता साझा समस्या विद्यार्थीले राखिरहँदा नगर प्रमुख भने गुनासो सम्बोधन गर्ने आश्वासन दिइरहेका थिए। कार्यक्रमको सुरुआतमा नै नगर प्रमुख क्षेत्रीले सबैभन्दा बढी बजेट शिक्षामा छुट्याएको बताए पनि विद्यार्थीको गुनासो सम्बोधनको मार्गचित्र भने बताउन सकेनन्।

टुटेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रले त नगर प्रमुखको जबाफदेहिता र जिम्मेवारीमाथि नै पटक–पटक प्रश्न उठाए । भने, ‘छानाबाट पानी चुहिएको, छाना माथिबाट कक्षाकोठामा ढुंगा झरेको जिम्मेवारी कसले लिन्छ ?’

छात्रले पटक–पटक यो प्रश्न गरेपछि नगर प्रमुखले जिम्मेवारी आफूले नभई व्यवस्थापन समितिले लिनुपर्ने बताए । विद्यार्थीहरूले नगर प्रमुखलाई विद्यालयमा राजनीति भइरहेको भन्दै ध्यानाकर्षण गराए भने निर्वाचनमा पर्चा, पम्प्लेटसमेत वितरण गर्न कक्षाकोठामा नै आउने गरेको उदाहरण पनि सुनाए।

नगरको अनुगमन फितलो

विद्यार्थीहरूको गुनासोले नगर शिक्षा शाखा अनुगमनमा नजाने गरेको खुलासा भएको छ। विद्यार्थीहरूले विद्यालयमा कोही पनि अनुगमनमा नआउँदा शिक्षकमाथि थप स्वतन्त्रता बढेको भन्दै यसका कारण पढाइ फितलो भएको गुनासो गरे।

शिक्षा शाखाका प्रमुख गणेश दाहालले भने विद्यार्थीहरूले भनेजस्तो नभएको जिकिर गरे। उनले अनुगमन गरिरहेको दाबी गरे। नगरले विषयगत शिक्षक दिन नसक्दा विद्यार्थीहरूले निमावि पढाउने शिक्षकहरूले नै माविमा पढाइरहेको बताए। व्यवस्थापन समिति बनाउन नै नगरका प्रायः विद्यालयमा राजनीतीकरण हुने विद्यार्थीहरूले गुनासो गरे।

व्यवस्थापन समितिका अध्यक्ष चयनमा नै राजनीतिक हस्तक्षेप हुने गरेको विषयमा भने नगर प्रमुखले नै असन्तुष्टि जनाए । स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित मेयर क्षेत्री हाल कांग्रेस प्रवेश गरिसकेका छन् ।

५० प्रतिशत छात्र विद्यालयबाहिर

विद्यालयमा शैक्षिक वातावरण नहुँदा कैयौँ विद्यार्थी विद्यालय छाडेर मजदुरी गर्न जाने गरेको पनि पाइएको छ। विशेष गरी नगरको दक्षिणी क्षेत्रका वडा ६, ९, १२ र १३ मा यस्तो समस्या रहेको विद्यार्थीहरूले बताएका छन्। संख्यात्मक हिसाबले विद्यालयमा विद्यार्थीको संख्या अधिक भए पनि ५० प्रतिशत पनि उपस्थित नहुने उनीहरूको भनाइ छ।

उपस्थित नहुने विद्यार्थी खोलामा ढुंगा टिप्ने र मजदुरी गर्ने गरेको भेटिए पनि सरोकारवालाहरूले चासो नदेखाएको विद्यार्थीहरूको भनाइ छ। ‘कुन विद्यार्थी के गरिरहेको छ ? किन विद्यालय आएन ? भन्ने विषयमा न शिक्षकबाट नै खोजी हुन्छ न त नगरबाट नै,’ बनारझुल्ला माविमा अध्ययनरत एक छात्रले भने।

विद्यार्थीका अनुसार नगरमा सरुवाको समस्या रोगजस्तै बनेको छ। सरुवा भएर आएको ७ दिनमा नगरले अदलबदल गर्ने गरेको छात्रछात्राको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्