विदेश जानेहरूको सङ्ख्या सङ्ख्या ५१.४ प्रतिशतले बढेसँगै १० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो



काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा  नेपालमा विदेशबाट १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै सो अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स वृद्धि भएको जानकारी गराएको हो । नेपालमा  आउने रेमिटेन्समा बुद्धि भएर १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको बैङ्कले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३।७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ?। १११० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्