
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले सरकारको आगामी आर्थिक वर्षको बजेट सीमित ठाउँलाई मात्र समेटेर आएको आरोप लगाएका छन् । विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुने गरी सरकारले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।
आज शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै विष्टले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएकाले सरकारले बजेटलाई संशोधन गर्नुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘डडेलधुरामा बजेट बढ्यो रे, गोरखामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन्। तर आज केही पहुँचका आधारमा योजनाहरू, बजेटहरू केन्द्रित भएको छ ।’
सरकारको बजेटले देशको समस्यालाई सम्बोधन गर्न नसकेको विष्टको भनाइ रहेको छ । उनले भने , ‘यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक सङ्कटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिन् । एउटा भनाइ छ-जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन।’