काठमाडौं: सप्तरीको मलेठमा पाँचजनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न प्रदेश २ सरकारले गठन गरेको मन्त्रीस्तरीय टोलीले प्रतिवेदन तयार गरेको छ । २०७३ फागुन २३ गते मलेठमा भएको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन यथार्थ नभएको भन्दै प्रदेश सरकारले आफैं छानबिन गरी प्रतिवेदन तयार गरेको हो ।
घटनाको छानबिनका लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्रिस्तरीय कमिटी गठन गरेको थियो । मन्त्री यादवले प्रतिवेदन यही साता मुख्यमन्त्रीलाई बुझाउने बताए । प्रदेश सरकारले मन्त्री यादव नेतृत्वको टोलीलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बाहिर ल्याउन अख्तियारी दिएको थियो । टोलीले घटनाको निष्पक्ष छानबिन गरेको मन्त्री यादवले दाबी गरे ।
सप्तरीको राजविराज र रुपनीको बीचमा पर्ने गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तत्कालीन एमालेले ०७३ फागुन २३ मा आयोजना गरेको कार्यक्रमलाई मधेसकेन्द्रित दलले बिथोल्ने प्रयास गर्दा सुरक्षाकर्मीसँग झडप भएको थियो । झडपका क्रममा गोली लागी पाँच आन्दोलनकारीको मृत्युको भएको थियो । घटनामा मलेठका संजन मेहता, वीरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।
घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन गलत रहेको भन्दै राजपाले आन्दोलनसमेत गरेको थियो । तत्कालीन संघ सरकारले घटनाबारे छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो ।