भारत निकासी हुँदै गरेकाे १२० क्वीन्टल अवैध केराउ बरामद



वीरगञ्ज : वीरगञ्जबाट प्रहरीले चोरी निकासीको आशंकामा केराउ बरामद गरेको छ । वीरगञ्जको अलौंबाट १२० क्वीन्टल केराउ बरामद भएको हो ।

 

भारततर्फ लैजादै गरेको अवस्थामा चालकसहित दुई ट्याक्टर केराउ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रेवती ढकालले जानकारी दिए । ‘५० किलोको १२० बोराका दरले दुईवटा ट्याक्टरमा २४० बोरा केराउ लोड गरेर भारततर्फ लैजाँदै गरेका रहेछन्,’ उनले भने, ‘चोरी निकासीको आशंकामा नियन्त्रणमा लिएका हौं, कसको हो भन्ने खुलेको छैन, आवश्यक कारबाहीका लागि भन्सार बुझाउँछौं ।’

 

बरामद भएको केराउको मूल्य अन्दाजी ६ लाख भएको अनुमान गरिएको छ । प्रहरीले ना २ त ७९१६ र २५८७ नम्बरको ट्याक्टरका चालकहरु पर्साको बहुदरमाई नगरापलिका ७ का २० वर्षीय रामविनय राम र पकाहामैनपुर गाउँपालिका वडा नं १ को ३५ वर्षीय राजेश महतोलाई समेत नियन्त्रणमा लिएको छ ।

 

बरामद गरिएको केराउसहितको ट्याक्टर र चालकहरुलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

तेस्रो मुलुकबाट सहुलियतमा आयात गरी भारततर्फ चोरी निकासी गर्न लागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तर, व्यापारीहरुले भने प्रहरीले बहुअरी चोकबाट ट्याक्टर नियन्त्रणमा लिएर अलौंतर्फ लगी अलौंबाट बरामद गरेको भनेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्