पाँचथर : सदरमुकाम फिदिमवाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु भएको छ । गृहमन्त्री रामवहादुर थापा (बादल) ले फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीलाई पहिलो परिचय पत्र दिएर वितरण सुरु गरेका हुन् ।
परिचयपत्र वितरणकालागि थापा काठमाडौंबाट हेलिकप्टरमा आएका हुन्। परिचयपत्र पाउने दोश्रो नागरिक भने गृहमन्त्री थापा आफैं भएका छन्। उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन्। बृद्धा अवस्थाकी उनले बसिबसि परिचय पत्र बुझिन्। उनलाई परिचयपत्र वुझ्न परिवारका सदस्यले फिदिम ल्याएका थिए।
प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, गृह र प्रधानमन्त्री कार्यालयका सचिवलगायतको उपस्थिति वितरण कार्यक्रममा रहेको थियो। पहिलो दिन सोमवार ५० वटा कार्ड बाँड्ने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए।
न्यौपानेका अनुसार पाँचथरका लागि २ हजार ४ सय २९ वटा परिचयपत्र कार्ड ल्याइएको छ। अरु छपाईको क्रममा रहेको उनले जानकारी दिए। सूचना संकलन भने ५२ हजार ७ सय ५४ जनाको गरिएको छ। यो आइतवार साँझसम्मको तथ्यांक हो। सूचना संकलनको काम गत असार ५ गतेदेखि भएको हो।
सिंहदरवारमा ३२ सयको सूचना संकलन गरिएको उनल बताए। यो कार्यक्रम पाँचथरवाट सुरु भएको हो। छपाई भएर ल्याएको कार्ड खोल्ने बित्तिकै सम्वन्धित ब्यक्तिको मोवाइलमा म्यासेज जाने भएकाले सोमवार कार्ड प्राप्त गर्ने सबैले सूचना पाइसकेको न्यौपानेले बताए।