काठमाडौं : नेपाल खानेपानी संस्थानमा आन्दोलनरत कर्मचारीसँग सोमबार भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । व्यवस्थापनले संस्थानका उपप्रकन्धक ईश्वर प्रसादको नेतृत्वमा गठित ४ सदस्य टोलीले आन्दोलनरत ४ वटा युनियनका वार्ता टोलीसँग छलफल गरेको थियो । विभिन्न ७ बुँदे मागमा कुनैपनि तयारी नगरेको भन्दै वार्ता गर्न गएका टोलीले आफूहरुलाई अल्मल्याउन खोजेको आरोप लगाएका छन् ।
'विगतदेखि जस्तै भयो', संयोजक रामजी अर्यालले भने, ‘विना तयारीको वार्ताको औचित्य छैन ।’ विगतमा पनि इश्वर प्रसादको नेतृत्वमा गठित वार्ता टोलीले गरेको सम्झौता कुनै पनि पूरा नभएको संघर्ष समितिका प्रवक्ता समिर पण्डितले जानकारी दिए ।
सोमबार भएको वार्तामा नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराई र महासचिव केदार धमला, खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष रामजी अर्याल र महासचिव रामकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष समिर पण्डित र महासचिव कुलदलेव ज्ञवाली, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष झगबहादुर डाँगी र सचिव देवचन्द्र यादव सहभागी थिए ।
संस्थानबाट वार्तामा सहभागी महाप्रबन्धक डा भूपेन्द्र प्रसाद, वार्ता टोलीका संयोजक इश्वर प्रसाद, संस्थगत सेवा महाशाखा प्रमुख त्रिदिपकुमार श्रेष्ठ, अर्थमहाशाखा प्रमुख रामशरण रायमाझी, कानुन अधिकृत कमल थापा सहभागी थिए ।
संस्थानमा सञ्चालक समिति अध्यक्ष, एवं पदपूर्ति समिति नहुँदा ठप्प भएको काममा महाप्रबन्धकले पनि कुनै चासो र गम्भिर्यता नदेखाएकोमा कर्मचारी आक्रोशित बनेका थिए । सोमबारको छलफलमा कुनै टुंगो नलाग्ने आन्दोलनरत कर्मचारीको ठहरपछि संस्थान वार्ताटोलीले बुधबार पुनः वार्ता बस्नेगरी स्थगित भएको छ । संघर्ष समितिले आन्दोलनलाई चर्काउने सहसंयोजक पदमहरि राईले जानकारी दिए ।
उनले वार्ताको नौटंकी अन्त्य भइसकेको प्रतिक्रिया दिँदै संस्थानको २४ वटै शाखामा हस्ताक्षर संकलन गरी कार्यालय प्रमुख मार्फत महाप्रबन्धकलाई बुझाउने अभियान थालिएको बताए । संघर्ष समितिले सोमबारको आन्दोलन सकिएको भन्दै मंगलबार पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधान कार्यालय त्रिपुरेश्वरमा सहभागी हुन सम्पूर्ण कर्मचारीलाई अनुरोध गरेको छ ।
वार्तामा महाप्रबन्धक डा भूपेन्द्र प्रसादले आफूलाई सहयोग गर्न कर्मचारीसँग अपिल गरेका थिए । उनले आफूले चाहँदा चाहँदै पनि मन्त्रालायबाट हुने कामले नसकेको प्रतिक्रिया दिए ।