हेटौंडा : हेटौंडाबाट तीन नम्बर प्रदेशको राजधानी सारिए नाकाबन्दी गर्ने चेतावनी दिइएको छ । सोमबार हेटौंडामा आयोजना गरिएको कार्यक्रममा जिल्लाका क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनका प्रमुखले हेटौंडाबाट राजधानी सारिए देशले ठुलो दुर्घटना खेप्नुपर्ने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईँले हेटौंडाको भन्दा राम्रो पूर्वाधार भएको ठाउँका बारेमा खुल्ला छलफलका लागि तयार रहेको बताए । ‘तर दुई चार नेताको स्वार्थका लागि राज्यले करोडौं रुपैयाँ खर्च गरिसकेको ठाउँ छाडेर अर्बौँ खर्च गराउने कुरा मान्य छैन,’ उनले भने ।
हेटौंडालाई चारैतिरबाट राष्ट्रिय राजमार्गले घेरेको र सबैभन्दा टाढा रहेको जिल्ला रसुवासँग पनि सीधा बस सञ्चालनको तयारी प्रदेश सरकारले गरेकाले अपायक परेको गुनासो बहाना मात्र भएको उनको दाबी छ ।
नेपाली काग्रेसनिकट दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिए । उनले भने, ‘हाम्रो माउ पार्टी नेपाली कांग्रेस, हाम्रा युवाहरु र मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु पनि यसका लागि तयार छन् ।’ प्रदेश ३ को राजधानी चलाइए देशको राजनीतिले अर्को मोड लिने उनको भनाई थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले राजधानीको विषयमा बहस आवश्यक नरहेको बताए । कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी सम्बद्ध युवा संगठनका मकवानपुर अध्यक्ष सुदिप कार्कीले प्रदेश राजधानीसँग जनताका दैनिक काम नजोडिने भएकाले सांसदको स्वार्थमा राजधानी सार्ने कुरा मान्य नहुने बताए ।
राजधानीको टुङ्गो लाग्न नसक्दा डेढ महिनादेखि प्रदेशसभा बैठक समेत बस्न सकेको छैन । स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले मकवानपुर सहित पाँच जिल्ला राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन दिए पनि सत्तारुढ दल नेकपाका नेताबीच नै एकमत नहुँदा अन्योल कायमै छ ।