आपराधिक गतिविधि हुने गुनासो बढेपछि सूचना सङ्कलन गर्न गएका प्रहरीकै हतियार लुटपाट 



काठमाडौँ । सुनसरीको दक्षिणी क्षेत्रमा आपराधिक गतिविधि हुने गुनासो बढेपछि सूचना सङ्कलन गर्न गएका प्रहरीको हतियार लुटपाट भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बर्जु गाउँपालिका – १ शुक्रबारेमा सादा पोसाकमा खटिएका प्रहरीहरूको हतियार गए राति लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अज्ञात समूहबाट लुटपाट हुने गुनासो आएपछि इलाका प्रहरी कार्यालय दुहबीले प्रहरी जवान विमन परियार र प्रेम चौधरीलाई विशेष अप्रेसनका लागि सो क्षेत्रमा खटाएको थियो । तर गए राति १२ बजेतिर अज्ञातसमूहले उनीहरूलाई आक्रमण गरी हतियारसमेत लुटेका हुन्

लुटेराहरूले परियार र चौधरीमाथि चिर्पट प्रहार गरेर उनीहरूको साथमा भएको ठुलो चाइनिज पेस्तोल, एउटा म्यागेजिन र सात राउन्ड गोली लगेका हुन् । लुटेराहरूको समूह ठुलो भएकाले प्रहरीहरू हतियार जोगाउन असफल भएको प्रहरीको भनाइ छ ।

प्रहरी र लुटेरा समूहबिच केही बेर घम्साघम्सीसमेत भएको बताइएको छ । चिर्पट प्रहारका कारण प्रहरीहरू घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्